बढ्दो खराब कर्जाले तनावमा बैंक «
Logo

बढ्दो खराब कर्जाले तनावमा बैंक

काठमाडौं– निष्क्रिय कर्जा व्यवस्थापन गर्न नसक्दा बैंकहरू अहिले तनावमा छन् । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुलीमा समस्या आउँदा खराब कर्जा बढ्दो क्रममा छ ।

राष्ट्र बैंकका अनुसार असोजसम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.६१ प्रतिशत पुगेको छ । भदौमा २.९८ प्रतिशत रहेको खराब कर्जा एक महिनामै उल्लेख्य बढेको हो । असोजमा विकास बैंकको निष्क्रिय कर्जा अनुपात ३.१९ प्रतिशत र वित्तीय संस्थाहरूको ८.३७ प्रतिशत पुगेको छ । केही दिनमै राष्ट्र बैंकले कात्तिक महिनाको तथ्यांक प्रकाशन गर्दैछ । त्यसमा पनि खराब कर्जाको अनुपात बढ्ने बैंकरहरू बताउँछन् ।

हरेक महिना निष्क्रिय कर्जाको थुप्रो लाग्दै जाँदा बैंकरहरू तनावमा छन् । सरोकारवाला तथा विज्ञहरूले अहिले खराब कर्जा बढ्नुको मुख्य कारण अर्थतन्त्रमा आएको शिथिलता रहेको बताउँदै आएका छन् । बढ्दो मूल्यवृद्धि, व्यवसायमा आएको संकुचनजस्ता कारणले अहिले उपभोक्तामा क्रयशक्ति कमजोर बनेको छ । जसकारण उनीहरूले कर्जा तिर्नेतर्फ सोच्न सक्ने अवस्था देखिँदैन ।

केही ऋणीहरूले त बैंकको ऋण नतिर्नका लागि भनेर आन्दोलन नै गर्दै आएका छन् । यी र यस्तै अन्य कारणले बैंकहरूलाई तनाव भएको विष्लेषण भइरहेको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन हुन नसक्दा यसको असर बैंकको नाफामा पनि उस्तै परेको छ । प्रोभिजनका लागि बैंकहरूले पैसाको थुप्रो लगाउनुपरेको छ । बैंकहरूले कर्जा असुली गर्न नसक्दा थप कर्जा प्रवाहतर्फ बैंकहरूले मन लगाएका छैनन् । विगतमा बैंकहरूले आवश्यकभन्दा बढी कर्जा प्रवाह गरेको टिप्पणी पनि हुने गरेको छ । जसकारण पनि अहिले लगानीका लागि बैंकहरू उत्सुक नदेखिएको सरोकारवालाहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा अहिलेको निष्क्रिय कर्जाको अवस्थालाई लिएर आत्तिन नहुने बताउँछन् । ‘अर्थतन्त्रमा आएको समस्याका कारण निष्क्रिय कर्जा बढ्न पुगेको हो,’ उनी भन्छन्, ‘अर्थतन्त्र चलायमान हुँदै जाँदा यो पनि क्रमशः घट्दै जान्छ ।’ अहिले क्रमशः अर्थतन्त्रमा सुधार हुँदै गएकाले आगामी त्रैमासमा निष्क्रिय कर्जाको अवस्थामा सुधार आउने अपेक्षा गरिएको उनी बताउँछन् । अहिले कर्जाको माग र विस्तार बढिरहेको, अर्थतन्त्र क्रमशः चलायमान हुँदै गरेको तथ्यांकहरूले पनि देखाएको उनको भनाइ छ । जसकारण अब विस्तारै निष्क्रिय कर्जा घट्दै जाने उनको भनाइ छ ।

केन्द्रीय बैंकले विभिन्न नीतिहरूमार्फत निष्क्रिय कर्जा व्यवस्थापनमा बैंकलाई सहयोग गर्नुपर्ने बैंकरहरू बताउँछन् । संघका कार्यकारी निर्देशक शर्माले केन्द्रीय बैंकले निष्क्रिय कर्जा व्यवस्थापनका लागि कस्तो नीति ल्याउने सोचेको छ, त्यसमा पनि केही भर पर्ने बताए । ‘केही उद्योगहरूलाई लचिलो नीति ल्याएर कर्जा पुनर्संरचना गर्न दिने व्यवस्था आएमा पनि केही सहज हुन सक्छ,’ शर्माले भने ।

नियतवश नै कर्जा नतिर्ने ऋणीहरूलाई कडा गरी साँच्चै असल प्रकृतिका र लयमा चलिरहेको उद्योगलाई केही सहज नीति ल्याउनेतर्फ उनको जोड छ । राष्ट्र बैंक यतिखेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो पटक समीक्षा गर्ने तयारीमा छ । समीक्षामार्फत बैंकहरूको निष्क्रिय कर्जालाई व्यवस्थित गर्नका लागि केन्द्रीय बैंकले बाटो देखाउनुपर्ने बैंकरहरू बताउँछन् । यसका लागि केन्द्रीय बैंकले लचक नीति ल्याउने अपेक्षामा समेत उनीहरू छन् । केही सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले केही लचिलो नीति ल्याउन सक्ने संकेत गरेका थिए । जसकारण पनि अहिले उद्यमी–व्यवसायी तथा बैंकरहरूको ध्यान मौद्रिक नीतिको समीक्षातर्फ गइरहेको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार केही दिनमै केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्छ । जसका लागि अहिले तयारी भइरहेको छ । उनले बैंकहरूको निष्क्रिय कर्जाको अवस्थालाई केन्द्रीय बैंकले निरन्तर निगरानी गरिरहेको बताए । जसकारण अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । उनले अन्य अवस्थामा एक प्रतिशतकै हाराहारीमा रहने गरेको निष्क्रिय कर्जा अहिले झण्डै ४ प्रतिशत बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘सिस्टममै रिस्क हुने गरी बढेको होइन । भारतमा पनि खराब कर्जा यति हुन्छ । यसले वित्तीय स्थायित्वमा असर गर्न सक्दैन ।’ उनले नेपालमा खराब कर्जाको ‘बेन्चमार्क’ कति हो भन्ने नै स्पष्ट नरहेको बताए । पाँच प्रतिशतभन्दा बढी खराब कर्जा हुँदा केन्द्रीय बैंकले गम्भीरतापूर्वक हेर्ने भएकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्