प्राधिकरणलाई एनसेलको जवाफी पत्र, जनदबाब बढ्दै «
Logo

प्राधिकरणलाई एनसेलको जवाफी पत्र, जनदबाब बढ्दै

काठमाडौं– दूरसञ्चार प्राधिकरणलाई जानकारी नै नदिएर एनसेलमा रहेको आजियटाको सेयर बिक्री गरिएको आरोप लागेका बेला एनसेलले यसबारे प्राधिकरणलाई जानकारी गराएको छ । प्राधिकरणका अनुसार एनसेलले मंगलबार यसका बारेमा जानकारी दिँदै पत्र पठाएको हो । प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले एनसेलमा रहेको आजियटाको ८० प्रतिशत सेयर बिक्रीबारे एनसेलबाट पत्र प्राप्त भएको जानकारी दिए । ‘एनसेलको पत्र प्राप्त भएको छ,’ मंगलबार कारोबारसँग खनालले भने, ‘अबको थप प्रक्रिया के गर्ने भन्नेबारेमा पत्र अध्ययन गर्न बाँकी छ ।’

अध्यक्ष खनालले कानुनको परिपालना बमोजिम नै एनसेलको सेयर बिक्रीका सम्बन्धमा बाँकी प्रक्रिया अगाडि बढ्ने र छिटै यसको नतिजा देखिने बताए । यसअघि आजियटाले आफ्नो सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेपछि प्राधिकरणले अनुमति नलिएको भन्दै एनसेललाई स्पष्टीकरण सोधेको थियो । दूरसञ्चार कम्पनीले ५ प्रतिशतभन्दा धेरै सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर, प्राधिकरणलाई कुनै जानकारी नदिई एनसेलको विदेशी लगानीकर्ताले नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । यसपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

यसबीच एनसेलमा रहेको मलेसियाली कम्पनी आजियटाको ८० प्रतिशत सेयर न्यून मूल्यमा बिक्री गरेपछि मुलुकभर यसलाई लिएर विवाद सिर्जना भएको छ । अपारदर्शी कारोबार भन्दै छानबिनको माग गरिएको छ । मलेसियन कम्पनी आजियटाले सात वर्षअघि एक अर्ब साढे ३६ करोड अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले त्यही सेयरलाई ५ करोड डलरमा बेचिएको हो । आजियटाले नेपाली मूलका सिंगापुरे नागरिक सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई यो सेयर बेचेको हो । एनसेलको बाँकी २० प्रतिशत सेयर पनि आचार्य परिवारकै नाममा छ । यो सेयर बिक्रीले कानुनी मान्यता पाए एनसेलको सबै स्वामित्व आचार्य परिवारभित्र रहनेछ ।

सेयर बिक्रीमा न्यून मूल्यांकन भएको देखिएपछि विवाद सुरु भएको हो । प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले सरकारमाथि दबाब बढाइरहेका छन् भने कतिपयले संयुक्त विज्ञप्ति जारी गर्दै छानबिनको माग गरिरहेका छन् । एनसेलको सेयर खरिदबिक्रीमा ठूलो परिमाणमा कर छली भएको हुन सक्ने आशंकाबीच सरकारले हस्तक्षेप गर्नुपर्ने माग उनीहरुको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको स्वामित्व खरिद–बिक्री प्रक्रियामा अर्बौं रुपैयाँ घोटाला भएको आशंका गर्दै छानबिनको माग गरेका छन् । मंगलबार ओखलढुंगामा उनले यो प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

यसैगरी कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको आरोपसमेत लगाएका छन् । आउँदो २०८६ मा सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तीन पक्ष मिलेको उनको दाबी छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि एनसेलको सेयर खरिदबिक्री प्रकरण प्रथम दृष्टिमै ‘दालमा केही कालो भएको’ संकेत गरेको बताएका छन् । यसले वैदेशिक लगानीमा गम्भीर समस्या उजागर गरेको उनले उल्लेख गरेका छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् । ‘हामी सूचना लिइरहेका छौं । यसको नियमन गर्ने निकाय प्राधिकरण हो । ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,’ चितवनमा मन्त्री महतले भने । एनसेल सेयर खरिद–बिक्रीको विषयमा संसदीय समितिहरुमा पनि छलफल सुरु हुँदैछ । बुधबार सार्वजनिक लेखा समिति र अर्थ समितिले यस विषयमा छलफल गर्न छुट्टाछुट्टै बैठक बोलाएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि एनसेलको खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्नुपर्ने विषय उठेको छ । यसबाहेक अन्य समितिका सदस्यहरुले पनि विभिन्न कार्यक्रममा एनसेलको सेयर बिक्रीको विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

विगतमा एनसेलको ८० प्रतिशत सेयर आजियटाले खरिद गर्दा पनि यस्तै विवाद भएको थियो । त्यसबेला सेयर खरिदबिक्रीमा भएको पुँजीगत लाभकर आजियटाले तिर्न नखोजेपछि विवाद अदालतसम्म पुगेको थियो । अदालतले तिर्न आदेश दिएपछि मात्र एनसेलले ब्याज र जरिवानासहित गरी करिब ६२ अर्ब रुपैयाँ लाभकर तिरेको हो । यसका अतिरिक्त ठूला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अन्तर्गत लगाएको करिब ५७ अर्ब रुपैयाँ करको विषय अहिले पनि सर्वोच्चमा छ ।

छानबिन गर्ने गठबन्धनको समझदारी
एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक र जालसाझीपूर्ण भएको भन्दै सत्तारुढ गठबन्धनले तत्काल अध्ययन र छानबिन गर्ने समझदारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा सत्तारुढ गठबन्धनभित्र एनसेलको खरिद–बिक्री शंकास्पद रहेको भन्दै छानबिन गर्नुपर्नेमा समझदारी बनेको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार सत्तारुढ गठबन्धन दलका नेताहरूलाई एनसेलको खरिद–बिक्रीबारे छलफल गर्नका लागि बोलाएका थिए । यसैगरी सोमबार बिहान एनसेलका नेपाल प्रतिनिधिलाई बोलाएका प्रधानमन्त्री दाहालले दिउँसो सम्पादकहरूसँगको छलफलका क्रममा अध्ययन र छानबिन गर्नका लागि सरकारी अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिएका थिए ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालको कानुनबमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकूल खरिदबिक्री नभएको कुरामा समझदारी बनेको बताए । सेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्