हिमाली जिल्लामा परेकाे हिमपातले भूकम्पपीडित समस्यामा «
Logo

हिमाली जिल्लामा परेकाे हिमपातले भूकम्पपीडित समस्यामा

जाजरकोट– भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्प पीडित चिसो मौसममा हिमपात हुँदा समस्य परेका छन् भने हिमाली जिल्लामा हिमपातले समस्या बनाएको छ । हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो भागमा समस्या भएको छ । जिल्ला भरी पानी परेका कारण चिसो बढेको छ ।

त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारण चिसोले हैरान भएका छन् । सबै भन्दा बढी जेष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई समस्या भएको छ । भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएका छन् । भूकम्पपछि प्रभावित जोखिम जनसंख्य २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।

त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ । घर बाहिर चिसोमा त्रिपालको सहारामा समस्या भएपछि यहाँका सर्वसाधारण सरकारप्रति आक्रोषित भएका छन् । यत्ता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले संघ, संस्थाहरु एकद्वार प्रणालीको विरुद्धमा गएको आरोप लगाएका छन् ।

प्रजिअ सुनारले अब राहत वितरणका कामहरु पूर्णरुपमा बन्द गर्ने बताए । आफूखुसी धेरै काम भएको र खटाएको ठाउँमा काम नगर्ने तर आफूले राजेकै ठाउँमा मात्र काम गर्ने भन्ने संघ, संस्थाको काम गर्ने तरिका ठिक नभएको समेत उनले बताए । पालिकामा राहत सामग्री स्टक राख्ने र समस्य परेको ठाउँमा मात्र पठाउने काम गर्ने निर्णय भएको भन्दै प्रजिअ सुनारले राहत वितरणको काम अब रोक्ने निर्देशन दिने बताए । सोमबार भेरी नगरपालिकाले सूचना निकालेर राहत वितरणको काम रोकिएको बताएको छ ।

पानी परेका कारण सदरमुकाममा रहेका निजी विद्यालय बन्द भएका छन् । पालिकाहरुमा अस्थायी संरचना निर्माण नभएका सबै विद्यालयको पढाइ रोकिएको छ । अस्थायी आवास निर्माण गर्नका लागि दिने भनिएका रकम अहिलेसम्म शिवालय गाउँपालिकाबाहेक अन्य ठाउँमा पठाउन सकिएको छैन । अन्य पालिकाले क्षति विवरण पठाउन नसक्दा अहिलेसम्म उक्त रकम पठाउन नसकिएको हो । विवरण नपठाएको भन्दै प्रजिअ सुनारले अब विवरण पालिकाले नपठाएको भनि पत्र लेखेर पठाउने चेतावनीसमेत दिएका छन् ।

उत्ता अस्थायी टहरा निर्माण गरिरहेको स्वयमसेवकले कति मात्रामा अस्थायी टहरा निर्माण गरे भन्ने जिल्ला प्रशासनसँग विवरण छैन । सामाजिक सञ्जालमा पार्टीहरुले सयौँ अस्थायी टहरा निर्माण गरेको भनि प्रचार गरेपनि सरकारी निकायसँग कुनै विवरण नहुँदा समस्या भएको छ । कसले कहाँ काम गरिरहेको भन्ने सम्मको विवरण सरकारी निकायसँग नभएको हो ।

डोल्पामा पनि हिमपात सुरु भएको छ । आइतबार रातीदेखि बदली भएपनि सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीबन, बन्तडी, हुम, काईगउलगायतका बस्तीमा हिमपात सुरु भएको छ । त्यसैगरी ठूलीभेरी नगरपालिका पर्ने माझफाल, थरगाउँ तालीलगायतका बस्तीमा पनि बिहानैदेखि हिमपात भएको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये धेरैजसोमा बिहानैदेखि वर्षातसँगै हिमपात सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो, डोल्पोबुद्व र छार्काताङसोङ गाउँपालिकामा रातीदेखिनै हिउँ पर्न सुरु भएको थियो । उपल्लो डोल्पाका गाउँबस्तीमा अहिलेसम्म बाक्लो हिउँ जमिसकेको र अझै हिमपात जारी रहेको डोल्पोबुद्व गाउँपालिका उपाध्यक्ष पेमा धोर्चे गुरुङले बताए । हिमपात पछि बढेको चिसोले जिल्लाभरी जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् ।
बाहिर अत्याधिक चिसो बढेकाले स्थानीय घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसो घटाउने उपायको खोज्न थालेका छन् ।

अहिले डोल्पाको तापक्रम शून्य डिग्रीमा पुगेको छ । डोल्पाको तल्लो क्षेत्रमा पर्ने त्रिपुराकोट, खदाङ्गलगायतका ठाउँमा बिहानैदेखि वर्षात सुरु भएको छ । चिसोका कारण कार्यालयमा सेवाग्राही उपस्थिति न्यून रहेको बताइएको छ । हिमपात भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनुका साथै पठनपाठनमा समस्या भएको त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

बिहानैदेखिको हिमपात र बदलीका कारण सोमबार जुफाल विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार नेपालगन्जदेखि कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । चिसोका कारण डोल्पामा नेपाल टेलिकमको फोन सेवासमेत प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानमा राखिएका मोबाइल टावरहरुमा सोलार सिस्टम डाउन भएपछि फोन सेवा अवरुद्ध भएको हो ।

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि सोमबार बिहानैदेखि उच्च भूभागमा हिउँ र बेंसीमा पानी पर्न सुरु गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको छ ।

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्