‘जलवायु प्रकोपले ऊर्जा उत्पादनमा ह्रास आउन सक्छ’ «
Logo

‘जलवायु प्रकोपले ऊर्जा उत्पादनमा ह्रास आउन सक्छ’

युएई– उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेतले जलवायु प्रकोपका कारण पानीका स्रोत सुक्ने र भावी दिनमा उर्जा उत्पादन घट्ने भन्दै यस विषयमा विश्वमा ध्यानाकर्षण गराउनुपर्ने बताएका छन् ।

सोमबार दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (२८ औं कोप) मा उनले उर्जा उत्पादनमा ह्रास आउन सक्ने भन्दै नै समयमा सचेत रहन आग्रह गरेका हुन् ।

उनले जलवायुजन्य प्रकोपका कारण जलविद्युत आयोजनासमेत असुरक्षित रहेको भन्दै लगानी सुनिश्चित गराउन पनि चुनौती बन्न सक्ने बताए । पानीको मुख्य स्रोत हिमाल रहेको र जलवायु परिवर्तनका कारण बढी प्रकोप हिमाली क्षेत्रमा देखिँदा यसले जलस्रोत घट्न सक्ने उर्जा उत्पादन वृद्धिमा चुनौती देखा पर्ने बस्नेतको भनाइ छ ।

‘जलवायु परिवर्तनले जलजन्य प्रकोपका कारण हानी र नोक्सानी बढाउन सक्छ, जलवायु परिवर्तनले कारण विपद्बाट हुने क्षति र नेपालका लागि अनुकूलन विकल्प के के हुन सक्छन् अथवा कसरी जलवायु परिवर्तनको समस्यासँग जुद्धन सकिन्छ भन्ने विषयमा कोपमा मुख्य छलफलको विषय बनाइनु जरुरी छ’ उनले भने, ‘नेपालले प्राकृतिक श्रोतहरुको पुनस्र्थापना र विशेषगरी हिमालय क्षेत्रमा हुने जलजन्य प्रकोपलाई न्यूनीकरण गर्न पहल गरिनुपर्छ । हिमनदीहरू संकुचन हुँदैछन्, मुहान सुक्दैछन् ।’

हिमालको हिउँ पग्लदै जाँदा सबैभन्दा बढी तल्लो तटीय क्षेत्रमा बढी असर परेको भन्दै उनले हिमालको हिउँ जगाउन अब पहल थाल्नुपर्नेमा जोड दिएका छन् । नेपालको जलस्रोतले कृषि र ऊर्जा उत्पादनबाट अर्थतन्त्रलाई टेवा दिँदै आएको उनले बताए । पूर्वाधारमा क्षति पुर्‍याएको छ र यसको दिगोपनमा नकारात्मक असर पारेको, प्रत्येक वर्ष प्रकोपले सयौं मानिसलाई असर गर्दै आएको, उनीहरूको जीविकोपार्जनमा नराम्ररी असर गर्दै आएको सयौं हेक्टर खेतीयोग्य जमिन बाढीका कारण बगरमा परिणत भएको समस्या समेत उनले उठाएका छन् ।

‘मेलम्ची जलाधार उच्च उचाइ क्षेत्रमा अत्यधिक वर्षा घटना र बाढी, अचानक बाढी र पहिरो जस्ता अन्य बहु–जोखिमबाट धेरै नराम्ररी प्रभावित भएको छ र पूर्वाधारमा ठूलो क्षति पुगेको छ । विशेषगरी मेलम्ची खानेपानी आयोजना नराम्ररी प्रभावित भएको छ’ मन्त्री बस्नेतले भने, ‘त्यसै वर्षको अक्टोबरमा मनसुन सकिएको बेला पश्चिम नेपालमा मात्र दुई दिनमा ५०० मिलिमिटरभन्दा बढीको वर्षाले करिब एक लाख १० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुगेको थियो ।’

उनका अनुसार सबै पक्षहरूले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान गर्ने पहाडी देशहरू र टापु राज्यहरूले जलवायु संकटको सबैभन्दा बढी प्रभाव भाग्नुपर्ने, जलवायु कोषलाई उनीहरूको अधिकारको रूपमा स्वीकार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्