घामलाग्दा मात्रै टावर, नेट चलाउन सदरमुकाम «
Logo

घामलाग्दा मात्रै टावर, नेट चलाउन सदरमुकाम

जुम्ला– कृषि पर्यटन, जडिबुटी र भेडापालनको प्रचुर सम्भावना बोकेको पातारासी गाउँपालिका सञचार असुविधाले वर्षाैंदेखि ओझेलमा छ । पातारासीका गाउँगाउँमा सडक पुगिसकेका छन् । पालिकाभरि १६ वटा साना ठूला जलविद्युत आयोजना सञ्चालित छन् ।

उत्पादनका हिसाबले पातारासी जुम्लाको अन्नभण्डार पनि हो । जडिबुटी र भेडापालन पातारासीका नागरिकको मुख्य आयस्रोत हो । पर्यटनको सम्भावना पनि उत्तिकै छ । तर आधारभूत आवश्यकताभित्र पर्ने सञ्चारको विकास नहुँदा पातारासीबासीले संघीयताको अनुभूति गरेका छैनन् । आजको प्रविधिको युगमा पनि पातारासीका दर्जनौ बस्ती सञ्चारविहीन छन् ।

हजारौ नागरिक सञ्चार सेवाबाट वञ्चित बन्न परेको छ । पातारासीका युवा भक्तबहादुर बुढा भन्छन्, ‘गाउँमा घाम नलागेसम्म टावर आउँदैन । बादल लाग्यो फोन सेवा प्रभावित हुन्छ । नेट चलाउने त आशै छैन । टावर आए पनि फोेनमा कुरा बुझिँदैन । पैसामात्रै काट्छ । फोन गर्न गाउँबाट पालिका केन्द्र र इन्टरनेट चलाउन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।’

पातारासीको उपल्लो क्षेत्रमा पर्ने दुर्गम वडा नं.१, २ र ३ का दर्जन बस्तीका झण्डै साढे आठ हजार नागरिक सञ्चारविहीन भएका हुन् । संघीयतापछि पनि सञ्चार सेवाको विकासमा स्थानीय तहदेखि नेपाल टेलिकमले ध्यान नदिएको भन्दै पातारासीवासीले दुःखेसो पोखेका छन् । डिजिटल युगमा पनि खबर आदानप्रदान गर्न सदरमुकाम धाउनु पर्ने पातारासीवासीको बाध्यता छ ।

निर्माणाधीन टावर अलपत्रदेखि सञ्चालित इन्टरनेटले सेवाभन्दा सास्ती दिएको छ । पटक पटक प्रशासन र नेपाल टेलिकमको ध्यानाकर्षण गराएका पातारासीका नागरिकले आइतबार पनि सञ्चार सेवा सुधार गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँघरमा सबैका हातहातमा स्मार्ट फोन छन् ।

घरदेखि बाहिर रहेका आफन्तसँग फोन इन्टरनेटमा कुरा गर्ने चाहना र आवश्यकता उस्तै हुन्छ । तर पातारासीका नागरिकका सबै आशा निरासामा बदिलएका छन् । तत्काल सञ्चार सेवा सुधार्न ध्यानाकर्षण गराइएको उनको भनाइ छ । पातारासी गाउँपालिका–५ को सातदेउलामा धौधौ गरी टेलिकमको टावर निर्माण गरे पनि घाम लागेपछि मात्रै सञ्चालन हुने गरेको छ । घाम लागेबाहेक अन्य अवस्थामा पातारासीका बस्ती सञ्चारविहीन हुन बाध्य छन् ।

रातमा नआउने, झ्यापझुप्प हुने, घण्टी आउने कुरो नबुझिने, पैसा काट्ने, प्रायः मोबाइलमा टावरको सिग्नल नदेखाउने समस्या विद्यमान रहेकाले फोन गर्न र नेट चलाउन जुम्ला सदरमुकाम, पालिका केन्द्र लासी बजारमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय नवीन रोकायाले बताए । पातारासी–२ तल्फी गाउँको फर्कीसल्ला डाँडाचौरमा नेपाल टेलिकमले विगत ६/७ वर्ष पहिले निर्माण गरेको टावर सञ्चालन नआएरै अलपत्र अवस्थामा छन् ।

निर्माण गर्ने ठेकेदार पनि अलपत्र छन् । के कति कारणले टावर सञ्चालन नभएको हो ? उक्त टावर सञ्चालन तथा गुणस्तरीय सञ्चार सेवाका लागि पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएको रोकायाले उल्लेख गरे । पातारासीमा निर्माणाधीन टावर वर्षौंदेखि अलपत्र भएको र इन्टरनेट टेलिफोनले सेवाभन्दा सास्ती दिएपछि पातारासीका नागरिक आजित भएका छन् ।

यता नेपाल टेलिकम जुम्लाले जुम्ला सञ्चार सेवा विस्तार तथा सुधारको काम भइरहेको बताएको छ । गाउँगाउँसम्म फाइबर नेट पुर्‍याउने टेलिकमको योजना छ । सदरमुकाममा फाइबर नेट दु्रत गतिमा विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्