सडक विस्तार गर्दै पुनर्वास नगरपालिका «
Logo

सडक विस्तार गर्दै पुनर्वास नगरपालिका

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सडक विस्तार कार्य सुरु गरेको छ । नगरपालिकाको सहरी योजना तथा भवन निर्माणसम्बन्धी गुरुयोजना अन्तर्गत सडकको न्यूनतम चौडाइ ६ मिटर कायम गरी सडक विस्तार गरेको हो ।

साविकका गल्लीसमेत चार मिटर चौडा कायम गरी गल्लीभित्र एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी नगरपालिकाको विकास गुुरुयोजनाअन्तर्गत सडक फराकिलो पार्ने कार्य अगाडि सारेको नगरपालिकाले जनाएको छ । कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा स्थानीय बजार आईबी आरडीबाट सडक विस्तार कार्य शुभारम्भ गरी पुनर्वास नगरपालिका–९ बिचाफाटा हुँदै वडा नं.–४ जनक बस्तीमा पनि सडक विस्तार कार्य भइरहेको छ ।

सडक फराकिलो पार्ने क्रममा केही स्थानमा समस्या देखिए पनि विकास कार्यलाई निरन्तरता दिएको नगरपालिकाका अमिन एवं प्राविधिक फोकल पर्सन प्रकाशबाबु सुवेदीले बताए । पुनर्वास नगरपालिका–४ ले सार्वजनिक जमिनको खोजी र संरक्षणसमेत सुरु गरेको छ । नगरपालिकाले सर्वदलीय समिति नै बनाएर विभिन्न वडागत सार्वजनिक बाटो अतिक्रमण गरी भोगचलन गरिरहेको जमिनको खोजी कार्य सुरु गरेको छ ।

यसले जमिनको पहिचान गर्ने र त्यसको संरक्षणसँगै उपयोगिताका कार्यक्रम ल्याउने वडाध्यक्ष मनोज सापकोटाले बताए । उनले भने, ‘सडकको क्षेत्रधिकारभित्र परेका गैरकानुनी संरचना र सार्वजनिक बाटो मिचेर भोगचलन गरिरहेका जमिर्न खाली गर्न यसअघि नै पटक–पटक सूचना जारी गरेता पनि अटेर गर्नेको डोजर लगाएर भत्काउन सुरु गरेको उनले बताए ।

नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले आगामी दिनमा क्रमशः नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा पर्ति जग्गाको उचित संरक्षणका लागि वडाध्यक्षसँग समन्वय गरी प्रभावकारी र वैज्ञानिक उपयोगबाट सार्वजनिक जग्गा संरक्षण र उपयोगसम्बन्धी कार्यविधि बनाइने बताए । नगरपालिकाको महत्वपूर्ण स्रोतको रूपमा रहेको सार्वजनिक जग्गाको उपयोग, संरक्षण र व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेको नगरप्रमुख शर्माले बताए ।

उनले भने, ‘कानुन अभावमा सार्वजनिक जमिनको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई नगरपालिकाको आयमासमेत प्रतिकूल असर पर्न गएकोले अतिक्रमण हुनसक्ने नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको अभिलेख, त्यसमा नगरपालिकाको नियन्त्रण र त्यस्ता जग्गाको उचित संरक्षण र उपयोग गरी जग्गा संरक्षण तथा उपयोग कार्यविधिका आधारमा नै नगरपालिकाले यससम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा एवम कार्यान्वयन गर्ने बताए ।

नगर प्रमुख शर्माले नगरपालिका क्षेत्रभित्र रहेका अन्य वडामा पनि अतिक्रमण गरी भोगचलन गर्दै आएका सार्वजनिक जग्गामा पनि क्रमिक रूपमा सडक विस्तार पार्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्