राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर «
Logo

राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं– नेपाल राष्ट्र बैंकका विभागीय प्रमुख (कार्यकारी निर्देशक) हरूको जिम्मेवारी हेरफेर गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

राष्ट्र बैंक प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ । यस्तै वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्री जनशक्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेल वित्त व्यवस्थापनमा सरुवा हुँदा विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेले पाएका छन् । आगामी आइतबारदेखि लागु हुने गरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।केही दिन अगाडि मात्रै गभर्नर अधिकारीले ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका थिए ।

मुद्रा व्यवस्थापन विभागमा रहेको नरेश शाक्यलाई आईटी विभाग र प्रदीपराज पौड्याललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका विश्रुत थापालाई बैंकिङ विभागमा सरुवा गरिएको थियो । यस्तै आईटी विभागमा रहेका रामबहादुर मानान्धर गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागमा र दयाराम शर्मा बैंकिङ विभागबाट वित्तीय संस्था सुपरीवेक्षण विभागमा सरुवा भएका थिए ।

सुमनकुमार अधिकारीलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा र ऋषिकेस भट्टलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिने गरी १ महिना अगाडि जिम्मेवारी हेरफेर भएको थियो । १८ जना कार्यकारी निर्देशक रहेको राष्ट्र बैंकमा ६ जनाको जिम्मेवारी भने हेरफेर भएको छैन ।

जसमा गभर्नर कार्यालयका नेफिल मास्के, बैंक सुपरिवेक्षण विभागका देवकुमार ढकाल, मौद्रिक व्यवस्थापन विभागका पिताम्बर भण्डारी, आर्थिक अनुसन्धान विभागका डा. प्रकाशकुमार श्रेष्ठ, लघुवित्त संस्था सुपरिवेक्षण विभागका रेवतीप्रसाद नेपाल र आन्तरिक लेखापरीक्षण विभागका विमलराज खनालको जिम्मेवारी भने हेरफेर भएको छैन ।

प्रतिक्रिया दिनुहोस्