१६ हजार नेपालीलाई कोरिया लैजान आवेदन खुल्यो «
Logo

१६ हजार नेपालीलाई कोरिया लैजान आवेदन खुल्यो

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा नेपाली युवा लैजान मंगलबारदेखि आवेदन खुल्ला गर्ने भएको छ ।

कोरियाले उत्पादनमुलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन खुल्ला गरेर १५ हजार ८४८ नेपाली छनोट गर्ने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले कोरियाले त्यहाँको उत्पादनमूलक क्षेत्रमा आवश्यक पर्नेमध्ये नेपालबाट १५ हजार ८४८ भन्दा बढी युवा लैजाने बताए ।

एक दिनमा ४ सिफ्ट गरी परीक्षा सञ्चालन हुने जनाइएको छ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले जनाएको छ । आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ । भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तिर्णांक प्राप्त गर्नेहरूमध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिनेछ । भाषा परीक्षा, सीप परीक्षणमा प्राप्तांको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरुमध्ये रोष्टरमा सूचिकृत गर्न अन्तिम नतिजा प्रकाशन गरिने छ ।

कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप कामदार आवश्यक रहेको जनाउँदै भाषा परीक्षा गरिने भएको हो । कोरियाको उत्पादनमूलक क्षेत्रमा काम गर्ने जाने नेपाली युवाका लागि तयार गरिएको रोष्टरका नामावली सकिन लागेपछि भाषा परीक्षा गर्न लागिएको हो ।

कोरियाले हाल कृर्षि तथा पशुपालन, उत्पादन र सिप विल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमासमेत नेपाली माग गर्ने तयारी गरिएको छ । यसअघि कोरियाले नेपालबाट कृर्षि तथा पशुपालन र सिप विल्डिङमा भाषा परीक्षा गरिसकेको थियो । यसअघि सिप विल्डिङमा ४ हजार र कृषि क्षेत्रमा ८ हजार छनोटका लागि पास भएका थिए ।

उत्पादनमूलक क्षेत्रको परीक्षामा सन २०२३ भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन । इपिएसमार्पmत कोरियाले निर्धारण गरेका रोजगार क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भएपनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ । नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा वर्षेनी १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् ।

ईपीएसअन्तर्गत कोरियाले सन २०२४ मा १ लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने जनाएको छ । जसमध्ये नेपालबाट १५ हजार ८४८ लैजाने भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले धेरै पाउने इपिएस शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्