निर्यातका सवाल «
Logo

निर्यातका सवाल

नेपालबाट निकासी हुने वस्तुमध्ये मूल्य अभिवृद्धि बढी हुने वस्तुकै निर्यात घट्नु डरलाग्दो विषय हो । चालु आर्थिक वर्षका सुरुका चार महिनाको तथ्यांकले यही डरलाग्दो तस्बिर पस्केको छ ।

यो वर्षको चार महिना अर्थात् कात्तिकसम्ममा मूल्य अभिवृद्धि बढी हुने र निकासी व्यापारमा समेत ठूलो हिस्सा ओगट्ने धागोसहित ऊनी गलैंचा, जुट तथा जुटका उत्पादन, ऊनी फेल्टलगायतका वस्तुकोे निर्यातमा कमी आएको छ ।

धागो (यार्न) निर्यात ३.५ प्रतिशतले घटेको छ । चार महिनामा ३ अर्ब ८४ करोडको मात्र धागो निकासी भएको छ । यस्तै ऊनी गलैंचाको निर्यात पनि ५.८ प्रतिशतले खस्केको छ । कात्तिकसम्ममा ३ अर्ब ७० करोड मूल्यबराबरका ऊनी गलैंचा पठाइएकोे छ । यस्तै, जुट तथा जुटका उत्पादनको निर्यात पनि खस्कन पुगेको छ । यी वस्तुको निर्यात ४.६ प्रतिशतले घटेर २ अर्ब ५१ करोडमा झरेको छ ।

अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टको निकासीमा पनि ५.५ प्रतिशतले ह्रास आएको छ । चार महिनामा १ अर्ब ७९ करोड मूल्यबराबरका यस्ता वस्तु निकासी भएका छन् । यी सबै वस्तु मूल्य अभिवृद्धि बढी हुनेमा पर्छन् ।

विगतमा पाम आयल, सोयाबिन आयलजस्ता कम मूल्य अभिवृद्धि हुने वस्तुको निकासी घट्ने घटेको थियो । अहिले स्वदेशी कच्चा पदार्थ बढी प्रयोग हुने वस्तुको निर्यात घट्नुले चिन्ता थपेको छ । खासमा जुनसुकै वस्तुको निर्यात घट्नु राज्यका लागि राम्रो होइन । त्यसमा पनि मूल्य अभिवृद्धि बढी हुनेभन्दा कम हुने वस्तुको निर्यात घटे राज्यलाई धेरै नोक्सान पर्दैन । तर, यो वर्ष उल्टो भइरहेको छ ।

यही बेला केही वस्तुको निर्यात उच्च दरमा भएकाले कुल निर्यातको अंशमा धेरै फरक पर्न पाएको छैन । यो वर्ष फलाम तथा तिनका उत्पादनको निर्यात ९३.६ प्रतिशतले बढेको छ । चार महिनामा ५ अर्ब ७० करोडको फलाम तथा फलामजन्य वस्तु निकासी भएको छ । मूल्य अभिवृद्धिजन्य वस्तुमध्ये तयारी पोसाकको निर्यात मात्र बढेको छ ।

यो चार महिनामा ३ अर्ब २२ करोडका तयारी पोसाक निकासी गरिएको छ । यो गत वर्षका तुलनामा १२ प्रतिशतले बढेको हो । यस्तै, जुस निकासी ४५.३ प्रतिशतले बढेको छ भने अन्य कृषिजन्य वस्तुको निर्यात औसत अवस्थामा छ । अलैंचीको निर्यात ९.९ प्रतिशतले बढ्दा चियाको निकासी १६.३ प्रतिशतले घटेको छ । यस्तै अदुवाको निर्यात ८९.९ र नेपाली छुर्पीको निकासी पनि १२.७ प्रतिशतले बढ्न पुगेको छ ।

निर्यातजन्य वस्तु निर्यातमा कमी आउनु भनेको अर्थतन्त्रको धेरै पक्षमा असर पु¥याउनु हो । निर्यात घटेपछि यस्ता वस्तुको उत्पादनमा पनि कमी आउँछ । उत्पादन घट्नु भनेको उद्योगी–व्यवसायीले रोजगारीमा कटौती गर्नु हो, सर्वसाधारणको आय बन्द हुनु हो र बजारमा राखिएका सामान नबिक्नुसमेत हो । यी सबै प्रक्रिया अवरुद्ध भएपछि स्वभावैले सरकारको राजस्व पनि कम हुन पुग्छ ।

त्यसैले निर्यात घट्यो भन्दैमा एकपक्षीय रूपबाट मात्र यसलाई हेरिनु हुँदैन । यसले पार्ने बहुपक्षीय प्रभावलाई समेत हेर्नुपर्ने हुन्छ । हुन त निर्यात घट्ने वा बढ्ने स्वाभाविक प्रक्रिया हो । अर्थतन्त्रको विस्तार र संकुचन तथा आम सर्वसाधारणको क्रयशक्तिलगायतका विषयले निर्यात–आयात व्यापारलाई प्रभाव पार्छ । तर निर्यात घट्नुको कारण के हो ? निर्यात बढ्ने सम्भावना हुँदाहुँदै घटेको हो वा होइन ? त्यो मुख्य कुरा हो ।

अन्य मुलुकका सामान बिकिरहेको बजारमा हाम्रा मात्र सामान बिकेनन् भने निश्चित रूपमा केही समस्या छ भन्ने बुझ्नुपर्छ र त्यस्ता समस्या पहिल्याएर समाधान खोजिनुपर्छ । अहिले मूल्य अभिवृद्धि हुने नेपाली वस्तुहरूको निर्यात के कारणले खस्केको हो ? सरकार र निजी क्षेत्र दुवै मिलेर समस्याको चुरो पहिल्याउनुपर्छ । त्यसपछि समाधानको बाटो पनि खोज्नुपर्छ ।

यस्ता कुरामा हाम्रो निजी क्षेत्र र सरकार दुवै खासै गम्भीर भएको देखिँदैन । निजी क्षेत्रले आफैंले गर्न सक्ने विषय धेरै हुन्छन् । तर, ससाना कुरालाई पनि उसले सधैं सरकारको मुख ताक्ने र सरकारकै आलोचनामा मात्र समय बिताउने गर्छ । अर्को सरकारी कर्मचारीको मानसिकता निर्यात बढे निजी क्षेत्रलाई फाइदा हो, हामीलाई के हुन्छ ? भन्ने छ । देशको स्वार्थलाई हेरेर काम गर्ने प्रवृत्ति न निजी क्षेत्रमा छ, न त सरकारी कर्मचारीमा नै देखिन्छ । यो प्रवृत्तिमा परिवर्तन नगरेसम्म अवस्था यस्तै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्