चोभार सुक्खा बन्दरगाह सञ्चालन सम्झौता «
Logo

चोभार सुक्खा बन्दरगाह सञ्चालन सम्झौता

काठमाडौं– चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमबार समिति र प्रालिबीच पाँच वर्षको लागि दुई करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँड गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै इन्टरमोडल यातायात विकास समिति कार्यकारी निर्देशक आशिष गजुरेले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई वार्षिक १ सय ३० करोडभन्दा बढी आम्दानी हुने जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बजेटमा समितिको कार्यालय खारेजी गर्ने बताए पनि कार्यालय खारेजी नहुने जिकिर गरे । गजुरेलका अनुसार संस्था अझै बलियो भएर जाने र खारेजी भएपनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्ने योजना बनेको छ । उनले भने,‘चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको छ ।’

उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखेर नै सम्झौता अगाडि बढाइएको उनको भनाइ छ । चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु—दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्य द्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको उनले बताए ।

ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिका प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरू रहेपनि त्यसलाई मध्येनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । उनले भने,‘आफूहरूले दिने सेवा स्तरीय बनाउने प्रयास रहने छ । केही चुनैतीहरूका बाबजुत पनि यसमा केही प्राविधिक कुरालाई एड्जस्ट गर्नुपर्ने छ । यसले गर्दा हाम्रो आउने सामानहरू जुन छन्, तेस्रो देशबाट आउने समस्यालाई सम्बन्धित निकायले सम्बोधन गर्न सके यहाँ आएर जाँच पास हुने अवस्था रहन्छ ।’

समितिले गत साउन ९ गते टेन्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्