सहकारी समस्याका कारण र समाधान «
Logo

सहकारी समस्याका कारण र समाधान

देशभर करिब ३१ हजार सहकारी संस्था रहेका छन् । त्यसमा बचत तथा ऋण सहकारी संस्था र नाम अरू भए पनि बचत तथा ऋणकै कारोबार गर्ने संस्थाको संख्या जोड्दा झन्डै २४ हजार छ । यी सहकारीमा करिब ५ खर्ब ५० अर्ब रुपैयाँ बचत रहेको छ ।

कैयौं सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका छन् । त्यसमध्ये केहीमा बचत रकम लगानी भएको ठाउँबाट उठ्न कठिन देखिएको छ । कतिपय संस्थामा भने बचत रकम कहाँ गयो भन्ने यकिनसमेत हुन सकेको छैन ।

एकै किसिमको काम गर्ने एक टोलका मानिसहरूको औपचारिक समूह सहकारी हो । सहकारी तीन किसिमका हुन्छन्— उत्पादक, श्रमिक र उपभोक्ता । उदाहरणका लागि दूध उत्पादन गर्ने किसान मिलेर खोलेको उत्पादक सहकारी हो । सिकर्मी मिलेर खोलेको श्रमिक सहकारी हो । किराना पसलका ग्राहक मिलेर खोलेको उपभोक्ता सहकारी हो ।

माथिको उदाहरणमा दूध उत्पादक सहकारीले आफ्ना सदस्यबाट मात्र दूध खरिद गर्छ । बिक्री जो–कोहीलाई गर्न सक्छ । त्यस्तै उपभोक्ता सहकारीले सामान जहाँसुकैबाट खरिद गर्छ । बिक्री भने आफ्ना सदस्यलाई मात्र गर्छ । श्रमिक सहकारीले जहाँसुकैबाट काठ खरिद गर्छ । फर्निचर बनाउने काम आफ्ना सदस्यबाट मात्र हुन्छ । सदस्यलाई सहकारीले ज्याला दिन्छ । तयार फर्निचर जहाँसुकै बिक्री गर्छ । सहकारी भनेको बिचौलियाको अन्त्य हो । सहकारी सदस्यले सामान र श्रम बिक्री गर्दा बढी मूल्य पाउँछन् । खरिद गर्दा सस्तो मूल्यमा पाउँछन् । किनकि यहाँ बीचमा नाफा खाने पक्ष हुँदैन ।

सहकारीको आधारभूत अवधारणामा बचत तथा ऋण सहकारी हुँदैन । तथापि सहकारीले सदस्यहरूको मासिक बचत परिचालन गर्न सक्छन् । श्रम वा वस्तु बिक्रीबाट घर खर्च चलेर बाँकी भएको पैसा सहकारीमा बचत गरिन्छ । कुनै कामविशेषले पैसा चाहिएको बेला सहकारीबाट ऋण लिइन्छ । नेपालमा छट्टै बचत तथा ऋण सहकारी संस्था पनि छन् । यस्ता सहकारीको प्रयोजन सदस्यहरूबाट नियमित बचत संकलन गर्ने र उनीहरूलाई ऋण प्रवाह गर्ने हो । वित्तीय पहुँच सहज नभएका व्यक्तिहरूका लागि यस्ता संस्था उपयोगी हुन्छन् ।

सहकारीमा नियमित बचतको अवधारणा हुन्छ । जस्तो— मासिक ५ सय वा १ हजार रुपैयाँ बचत गर्दै जाने । यस्तो बचत झिक्न पाइँदैन । बचत झिक्न सदस्यता पनि त्याग गर्नुपर्छ । बीचमा पैसा चाहियो भने ऋणको रूपमा लिनुपर्छ । बैंक र सहकारी दुवैको सञ्चालन सेयरधनीले गर्ने हो । बैंकमा सेयर रकमको आधारमा मताधिकार हुन्छ भने सहकारीमा सबै सदस्यको बराबर मताधिकार हुन्छ । निक्षेप जम्मा गर्ने र ऋण लिने व्यक्ति बैंकको सञ्चालनमा हिस्सेदार हुँदैनन् । सहकारीमा भने बचत गर्ने, ऋण लिने र सेयरधनी एकै व्यक्ति हुन्छन् ।

नेपालको सन्दर्भमा भन्ने हो भने बैंकमा १ प्रतिशत सेयर लगानी गर्नेले आफ्नो बैंकबाट ऋण लिन पाउँदैन । सहकारीमा आफू सेयरधनी भएको सहकारीबाट मात्र ऋण लिन पाइन्छ । बैंकमा बचत गर्ने र ऋण लिने व्यक्ति धेरै हुने तर बैंक सञ्चालनमा उनीहरू हिस्सेदार नहुने हुँदा उनीहरूको हित संरक्षणका लागि सरकारले नियमन गर्छ । सहकारीमा भने सरकारी नियमन आवश्यक पर्दैन ।

सोझा सदस्यलाई गुमराहमा पारेर टाठाबाठाले बढी लाभ लिन नसकून भनेर सहकारी दर्तादेखि नै विशेष व्यवस्था गरिन्छ । सहकारी दर्तापूर्व आवेदक सदस्यहरूले सहकारीको आधारभूत शिक्षा तालिम लिएको हुनुपर्छ । नयाँ थपिने सदस्यले पनि तालिम लिनुपर्छ । जतिखेर चाहियो उतिखेर पैसा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । निश्चित अवधिका लागि एकमुस्ट पैसा राख्ने खातालाई मुद्दती खाता भनिन्छ । वित्तीय सहकारीमा चल्ती र मुद्दती खाता हुँदैन । बैंकमा राख्ने पैसालाई निक्षेप भनिन्छ । सहकारीमा राख्ने पैसालाई बचत भनिन्छ ।

बैंक पब्लिक कम्पनी हुन् । बैंकको निश्चित चुक्ता पुँजी हुन्छ । खुला बजारमार्फत जो–कोहीबीच सेयर किनबेच गर्न सकिन्छ । बैंकले सर्वसाधारण जोकोहीबाट निक्षेप लिन्छ । त्यो निक्षेप जो–कोहीलाई ऋण दिन सक्छ । बैंकले निक्षेप र कर्जाको ब्याजको अन्तरबाट मुनाफा कमाउँछ । त्यो मुनाफा सेयरधनीलाई वितरण गरिन्छ । बैंकले सेयर पुँजीको सयौं प्रतिशत पनि मुनाफा गर्न सक्छन् । सहकारीको चुक्ता पुँजी हरेक वर्ष फेरबदल हुन सक्छ । यसमा सदस्य थपिँदै जान सक्छन् । पुराना सदस्यले सदस्यता त्याग गर्न सक्छन् । सदस्य थपिँदा चुक्ता पुँजी बढ्छ । त्यस्तै सदस्य घट्दा चुक्ता पुँजी घट्छ ।

सहकारीले गरेको आम्दानी र खर्चको अन्तरलाई मुनाफा भनिँदैन । खुद बचत भनिन्छ । खुद बचतको एक चौथाइ संस्थागत विकासका लागि अविभाज्य कोषमा राख्नुपर्छ । बाँकी रहेको खुद बचतको एक चौथाइ रकम संरक्षित पुँजी फिर्ता कोषमा राख्नुपर्छ । त्यो रकम कारोबारको अनुपातमा सक्रिय सदस्यहरूले प्राप्त गर्छन् ।

बाँकी खुद बचतको केही अंश मात्र सबै सेयरधनीले लाभांश पाउँछन् । देशमा चलेको पुँजीको औसत प्रतिफल दरभन्दा बढी लाभांश वितरण गर्न पाइँदैन । खुद बचतबाट सदस्यहरूको शिक्षा, तालिमका लागि केही अंश र सामुदायिक विकासका लागि पनि केही अंश छुट्ट्याउनैपर्छ ।

सहकारीले सेयर खरिद गरेर निष्क्रिय बस्ने कार्यलाई प्रोत्साहन गर्दैन । वार्षिक श्रम वा वस्तु बिक्रीबाट प्राप्त रकमको अनुपातमा संरक्षित पुँजी फिर्ता कोषबाट थप प्रतिफल पाइन्छ । नियमित बचत गर्नेको हकमा वर्षभरि प्राप्त गरेको ब्याजलाई कारोबार रकम मानिन्छ । ऋणीको हकमा समयमा तिरेको ब्याजलाई कारोबार रकम मानिन्छ । भाका नाघेको ऋणीले यस्तो प्रतिफल पाउँदैन ।

उपभोक्ता सहकारीको हकमा वर्षभरिमा सामान किनेर भुक्तानी गरेको रकमलाई कारोबार रकम मानिन्छ । सहकारीले सदस्यबाहिर बिक्री गर्न मिल्दैन । तर, त्यो ठाउँमा उपभोक्ताका लागि अन्य विकल्प उपलब्ध छैन भने सदस्यबाहिर पनि सहकारीले सामान बेच्नुपर्छ । त्यस्ता ग्राहकले पनि अतिरिक्त प्रतिफल समान ढंगले प्राप्त गर्छन् । कुनै व्यक्तिले उत्पादन गरेको, श्रम गरेको वा खरिद गरेको सामानमा सञ्चालन खर्च कटाउँदा बचत हुने रकमको भागिदार त्यही श्रमिक, उत्पादक वा ग्राहक नै हुनुपर्छ भन्ने सहकारीको मान्यता हुन्छ । एउटाको मुनाफा अरूले हरण गर्ने सम्भावना नभएको हुँदा कोही घाटामा जाने सम्भावना हुँदैन । कसैले बढी मुनाफा गर्ने सम्भावना पनि हुँदैन ।

सहकारी भनेको मुनाफा नगर्ने र घाटा पनि नहुने संस्था हो भने नेपालमा सहकारी कसरी डुबे र किन बचतकर्ताको पैसा फिर्ता हुन सकेन ? नेपालमा सहकारीको खोल ओढेर बैंकको कारोबार गरियो । बैंक सञ्चालन गर्न सरकारले तोकेको योग्यता भएका सञ्चालक र व्यवस्थापक हुनुपर्छ । सहकारी मूलतः स्वनियमनमा चल्छन् । कानुनको दायरा नाघेका छन् कि छैनन् भन्ने विषयमा भने सरकारले अनुगमन र नियमन गर्नुपर्छ । एकातिर सरकारले अनुगमन र नियमन गर्न सकेन, अर्कातिर नियमन गर्नु पर्दैन र गर्नु हुँदैन भन्ने मान्यताले पनि भूमिका खेल्यो ।

सहकारीको मान्यता नियमित बचत हो । तर, सम्पत्ति बिक्री गरेको करोडौं रुपैयाँ सहकारीमा मुद्दती गरे । चिनजान भएको समुदायभित्र मात्र सदस्य बन्नुपर्ने हो । सञ्चालक समितिले सदस्यता दिने निर्णय गरेपछि मात्र कारोबार गर्न मिल्ने हो । तर १ सय रुपैयाँको एक कित्ता सेयर खरिद गरेर जोकोहीले ठूलो कारोबार गरे ।

बढी ब्याजको लोभ जसलाई पनि हुन्छ । लोभका कारण मात्र सहकरीमा मानिसहरूले ठूलो रकम जम्मा गरेका होइनन् । लोभ र अज्ञानता दुवै कारण मिश्रित हुँदा यस्तो भएको हो । जोखिम बुझ्न सक्ने ज्ञान भएको मानिसले सहकारीमा मुद्दती गर्दैन ।
त्यसैगरी, अध्यक्ष वा टाठाबाठा सञ्चालकले आफूले एकमुस्ट ऋण लिएर आफ्ना महत्वाकांक्षी परियोजनाहरूमा लगानी गरे । परियोजनाबाट अपेक्षित उच्च प्रतिफल आउन सकेन । सहकारीलाई ब्याज र किस्ता फिर्ता गर्न सकेनन् ।

सहकारी व्यवस्थापकसँग ठूला बिजनेस प्लानको वित्तीय सम्भाव्यता र जोखिम मूल्यांकन गर्ने क्षमता हुने कुरा भएन । सहजै प्रवाह भएका ऋण उठ्न असहज हुनु स्वाभाविकै हो । यसरी अन्य सदस्यले लिएका ऋण पनि उठेनन् । सहकारी सिद्धान्तमा जति धेरै सदस्यले ऋण लियो उति राम्रो मानिन्छ । सीमित व्यक्तिले ठूलो ऋण लिनु नै जोखिमको सूचक हो । साथै, यसरी सहकारीको उद्देश्य पनि प्राप्त हुँदैन, किनकि सबै सदस्यको जीवनस्तर उकास्नु यसको उद्देश्य हो ।

सहकारी सिद्धान्त र कानुनी घेरा नाघेर सञ्चालन हुनु, सञ्चालक र व्यवस्थापकको जोखिम व्यवस्थापन मूल्यांकन गर्ने क्षमता नहुनु, ऋण प्रवाहमा गम्भीरता नदिनु, बदनियत नै राखेर कारोबार गर्नुजस्ता बहुकारणबाट सहकारीमा समस्या देखिएको हो । अब समस्या आउन नदिन सचेतना वृद्धि र अनुगमन नियमनलाई प्रभावकारी बनाउने हो । तर, जोखिममा परिसकेको अर्बौं रुपैयाँको समाधान के हो ? असल नियतले काम गरे पनि ढंग नपुगेका संस्थामा परामर्श सेवा उपलब्ध गराएर समाधानको प्रयत्न गर्नुपर्छ ।

दायरा नाघेका र सिद्धान्तअनुसार नचलेका सहकारी संस्थालाई थप बचत संकलन र ऋण प्रवाहमा रोक लगाउनुपर्छ । ऋण असुली, सम्पत्ति बेचबिखन र दुरुपयोग भएको सम्पत्ति खोजबिन गरेर एकीकृत गर्नुपर्छ । संस्था खारेज गरेर दामासाहीले दायित्व फरफारक गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्