पुनहिलमा पर्यटक बढे «
Logo

पुनहिलमा पर्यटक बढे

म्याग्दी– चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलमा पर्यटक आगमन बढेको छ । हिमाल र सूर्योदयको अवलोकन गर्नको लागि स्वदेशी एवं विदेशी पर्यटक आउन थालेपछि आगमन बढेको हो ।

तीन हजार २ सय मिटर उचाईमा रहेको पुनहिलमा प्राकृतिक सुन्दरतामा रमाउन असोज, कात्तिक र मंसिरमा आन्तरिक तथा बाह्य पर्यटहरू बढेका छन् । यो सिजनमा आन्तरिक तथा बाह्य पर्यटक गरी करिब १५ हजार घोडेपानी पुनहिलमा घुम्न आएको घोडेपानी–पुनहिल सञ्चालक समूहका सदस्य अमृत गर्वुजाले बताए । उनले विदेशी पर्यटक १२ हजार र नेपाली ३ हजारभन्दा माथि पुनहिल घुम्न आएको जानकारी दिए ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमश्रृखला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय १० मिटर उचाइमा रहेको घोडेपानीबाट पुनहिलमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने घौलागिरी, निलगिरी, अन्नपूर्णलगायतका दर्जनौ हिमश्रृखला अवलोकनका लागि विदेशी पर्यटक धेरै आएका छन् ।

म्याग्दीसँगै पोखरा, काठमाडौंलगायतका सहर, विभिन्न विद्यालय र कलेजबाट यहाँ घुम्न पर्यटक आउने गरेका छन् । यहाँको सुन्दरतामा बढी विदेशी पर्यटक रमाउने गर्छन् । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिम चुचुरोको दृश्यले मनलाई खुसी बनाएको पोखराबाट समुहमा घुम्न पुगेका रामेश्वर कोईरालाले बताए । प्रष्ट रुपमा देखिने हिमाल, सुर्योदयले पर्यटकलाई लोभ्याउने ठाउँ रहेको उनको भनाइ छ ।

घोडेपानीमा बास बस्ने पर्यटकहरू सुर्योदय र हिमश्रृखलाको सौन्दर्यमा रमाउन एकाबिहानै करिब एक घन्टा पैदल हिँडेर पुनहिल पुग्छन् । पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक एक हजार क्षमताको २६ वटा होटल सञ्चालनमा रहेको घोडेपानीका पुराना होटल व्यवसायी एवं नाईस भ्यू होटलका सञ्चालक ज्ञानबहादुर गर्वुजाले बताए । पर्यटकलाई आकर्षित गर्न पुन मगरहरूको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने मगर संग्रहालय सञ्चालन गरिएको छ ।

पुनहिल प्रवेशद्धार, पुनहिल, र बीच बाटोमा सार्वजनिक शौचालय पदमार्गलगायतको सुविधा रहेको छ । घोडेपानी र पुनहिल क्षेत्रमा एसियाकै ठुलो गुराँसे जंगल पनि रहेको छ । यहाँ १६ प्रजातीका गुराँस पाइन्छ । भौगोलिक रुपमा विकट भए पनि टेलिफोन, मोवाईल र इन्टरनेट, सडक, बस्ने र खाने सुविधाले पर्यटकको आगमन बढ्दै गएको होटल व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्