Logo

भूमिहीनलाई लालपुर्जा वितरणमा समस्या

पर्वत– स्थानीय तहहरुले भूमिहीनको तथ्यांक समयमै नबुझाउँदा पर्वतमा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणमा ढिलाइ भएको छ । भूमि आयोग पर्वतले पटकपटक सूचना जारी गर्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी गर्नेको तथ्यांक र निवेदन दिन आग्रह गरे पनि पालिकाहरूले आनाकानी गरेका हुन् ।

स्थानीय सरकारको बेवास्ताकै कारण अहिलेसम्म एक जना भूमिहीनले पनि लालपुर्जा पाउन सकेका छैनन् । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका निवेदन वडामार्फत् संकलन गर्ने र लगत संकलनसम्बन्धी कार्यविधि, २०७८ ले तोकेका प्रक्रिया पूरा गरी पालिकामा सिफारिस गरिए पनि कार्यान्वयन हुन नसकेको पीडितहरूको गुनासो छ ।

भूमि व्यवस्थापनका लागि भूमिहीन र अव्यवस्थित बसोबासी गरी ४२७ जनाले दिएको निवेदन र कागजात विभिन्न पालिकाले अल्झाएर राखेको भूमि आयोग पर्वतले जनाएको छ । पर्वतमा भूमिहीन सुकुम्वासी ७६ जना, भूमिहीन दलित ४१ जना, अव्यवस्थित बसोबासी २४३ गरी ३६० जनाको जिल्ला समितिमा निवेदन परेकामध्ये भूमिहीन सुकुम्वासी ४२ जना, भूमिहीन दलित २७ जना, अव्यवस्थित बसोबासी २३७ जना गरी जम्मा ३०६ जनाको नापजाँच गरी जग्गा उपलब्ध गराउन योग्य ठहर भएको जिल्ला अध्यक्ष उदय सुवेदीले जानकारी दिए ।

जग्गा पाउन योग्य ठहर भएकालाई पनि स्थानीय पालिकाको उदासीनताका कारण जग्गा दिलाउन नसकेको सुवेदीले बताए । नियमानुसार भूमिहीन हो भन्नेसहितको विवरण पुष्टि गरी समितिले निवेदकको विवरण सम्बन्धित पालिकामा पठाइ सकेपछि पालिकाले निवेदकलाई उपलब्ध गराउने जग्गाको क्षेत्रफलसहितको विवरण जिल्ला समितिमा पठाउनु पर्ने प्रावधान भए पनि त्यो हुन सकेको छैन । जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैंयु गाउँपालिकावाट कुनै पनि निवेदन जिल्ला आयोगको कार्यालयमा आइपुगेको छैन ।

समितिको बाँकी कार्यकाल अब १० महिनामात्र बाँकी रहेको र यो समयभित्र भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्नुपर्छ भनी लागिरहेको भए पनि पालिकाहरूको असहयोगले ढिलाइ भएको उनको भनाइ छ । भूमि आयोगले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी पुष्टि भएका र निवेदन परेको तर पुष्टि हुन बाँकी गरी अहिलेसम्मको निवेदनअनुसार ७३३ जनाका लागि भूमिको व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्