Logo

मूल्य अभिवृद्धिजन्य वस्तुकै निकासी घट्याे

काठमाडौं– नेपालबाट निकासी हुने वस्तुमध्ये बढी मूल्य अभिवृद्धि गर्ने भनिएका वस्तुहरुकै निकासी घट्न थालेको छ । स्वदेशी कच्चा पदार्थको उपयोग गरिने तथा आयातित कच्चा पदार्थको पनि अधिकतम प्रशोधनपछि गुणस्तरीय उत्पादन हुने वस्तुको निकासी घट्न थालेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

विगतमा पाम आयल, सोयाबिन आयलजस्ता कम मूल्य अभिवृद्धि हुने वस्तुको निकासी घट्ने गरे पनि अहिले भने स्वदेशी कच्चा पदार्थ बढी प्रयोग हुने सामग्री पनि घट्न थालेको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा निकासीमा ठूलो हिस्सा ओगट्ने धागोसहित ऊनी गलैंचा, जुट तथा जुटका उत्पादन, ऊनी फेल्टलगायतका वस्तुहरुको निर्यातमा उल्लेख्य कमी आएको छ ।

यस अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ९३.६ प्रतिशतले वृद्धि हुँदा कूल निकासीमा ठूलो असर देखिएको छैन । चार महिनामा ५ अर्ब ७० करोडको फलाम तथा फलामजन्य वस्तु निकासी भएको छ । तर, यस अवधिमा धागो (यार्न) निर्यातमा ३.५ प्रतिशतले ह्रास आई तीन अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ भने ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ५.८ प्रतिशतले ह्रास आई तीन अर्ब ७० करोडमा झरेको छ ।

यस्तै, जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ४.६ प्रतिशतले ह्रास आई २ अर्ब ५१ करोडमा सीमित भएको केन्द्रले जनाएको छ । अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा पनि ५.५ प्रतिशतले ह्रास आई १ अर्ब ७९ करोडमा सीमित भएको तथ्यांक छ । केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले धागोको निर्यात घट्नुमा टर्कीको आर्थिक अवस्थामा आएको परिवर्तनका कारण रहेको बताएका छन् । नेपालबाट धागो निर्यातका लागि अब बंगलादेशमा पहल गर्नुपर्ने देखिएको भन्दै बजार पनि प्रयाप्त भएको उनले बताए ।

चिया, ऊनी गलैंचा, जुट तथा जुटका उत्पादन, ऊनी फेल्टमा निकासी बढाउन बजारीकरण र गुणस्तरमा ध्यान दिनुपर्ने उनको सुझाव छ । नेपालबाट निकासी हुने मुख्य वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पस्मिना शल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाऊचाऊ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रुपमा रहेका छन् । मूल्य अभिवृद्धिजन्य वस्तुमध्ये तयारी पोशाकको निर्यात भने बढेको छ ।

चार महिनामा तयारी पोशाक निकासी १२ प्रतिशतले वृद्धि भई ३ अर्ब २२ करोड पुगेको छ । यस्तै, जुसको निकासीमा ४५.३ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । यद्यपि, पाम आयलको निर्यातमा ८१.२ प्रतिशतले ह्रास आई १ अर्ब ८८ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यात भने औसत अवस्थामा रहेको छ । यस अवधिमा अलैंचीको निर्यात ९.९ प्रतिशतले वृद्धि भई २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । तर, चियाको निर्यात भने १६.३ प्रतिशतले घटेर १ अर्ब ४९ करोडमा सीमित भएको छ ।

अदुवाको निर्यातमा ८९.९ प्रतिशतले वृद्धि भई ५७ करोड पुगेको छ । डगच्यू भनिने नेपाली छुर्पीको निकासी भने १२.७ प्रतिशतले बढेर ९७ करोड ८९ लाख पुगेको पाइएको छ । यसरी कूल निकासीमा फलाम तथा फलामजन्य वस्तुको योगदान सबैभन्दा बढी ११.२७ प्रतिशत रहेको छ । धागोको ७.६ प्रतिशत तथा ऊनी गलैंचाको ७.३३ प्रतिशत रहको छ । यस्तै, तयारी पोशाककै ६.३८ प्रतिशत र जुसको ५.६४ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्