विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने «
Logo

विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौं– मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रियस्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट २०२४ हुन लागेको हो ।

आइतबार नाराले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रियस्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट २०२४ गर्न लागेको बताएको हो । द ग्रेट कर्णाली क्वेस्ट दैलेखको आठबिस नगरपालिकाको रकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ ।

पत्रकार सम्मेलनमा द ग्रेट कर्णाली क्वेस्टका संयोजक मेघ आलेले विश्वका देशहरुको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताए । द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० अमेरिकन डलर शुल्क तिर्नुपर्ने छ । द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार तीन हजार अमेरिकन डलर राखिएकोमा चार हजार डलर पुग्ने अपेक्षा रहेको नेपाल एशोसिएशन अफ राफ्टिङ्ग एजेन्सिजका अध्यक्ष शिव अधिकारीले बताए । उनले भने,‘जसले गर्दा कर्णलीको पर्यटन विकासमा टेवा पुग्ने र द ग्रेट कर्णाली क्वेस्ट राफ्टिङ दौडले विश्वमा नेपालको प्रचार प्रसारमा ठूलो टेवा पुर्‍याउने छ ।’ द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने छन् ।

१५ देशका विभिन्न प्रतियोगीहरु सहभागी हुने छन् । प्रतियोगितामा १६ टिमको लागि फेब्रअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । २३ नोभेम्बर २३ देखि २८ सम्म तय गरिएको द ग्रेट कर्णाली क्वेस्ट कार्यक्रम पश्चिम नेपालमा गएको भूकम्पको कारण स्थगन भएको थियो । कार्यक्रमको लागि करिब ३ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्