राजस्वमा योगदान गर्नेलाई परिसंघको सम्मान

काठमाडौं– नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् ।
परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्य छन् । राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्टस, कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसिबी फुड्स एण्ड फिड्सलाई परिसंघले सम्मान गरेको हो ।
त्यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर, ऊर्जामुलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेको हो । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिरेका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिए । कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए ।