कालोसूचीबारे निगमको प्रष्टीकरण «
Logo

कालोसूचीबारे निगमको प्रष्टीकरण

फाइल तस्बिर ।

काठमाडौं– नेपाललाई युरोपियन युनियनले सुरक्षा सूचीबाट नहटाएको विषयमा नेपाल वायुसेवा निगमलाई जोडिएको भन्दै निगमले आपत्ति जनाएको छ ।

कुनै एक वायुसेवाको कमजोरीका कारण देश नै नागरिक उड्डयन क्षेत्रको कालोसूचीमा पर्दैन भन्ने कैयन उदाहरण भएको निगमको भनाइ छ । निगमले आइतबार विज्ञप्ति जारी गरी ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिनुमा आफ्नो कुनै दोष नभएको जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा नागरिक उड्डयन प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागु गर्ने जिम्मेवारी पूरा गर्न वर्तमान क्षमतामा विश्वस्त हुन नसकेको भनी ईयूले बेल्जियमका लागि नेपाली राजदूतलाई जानकारी गराएको पत्र नेपालले प्राप्त गरेको स्मरण गराइएको छ ।

सन् २०१३ देखि ईयूले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको छ । ईयूले गत मंगलबार नयाँ सूची सार्वजनिक गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई सुरक्षा चासो भन्दै कालोसूचीमै राख्ने निर्णय गरेको उल्लेख छ । प्रतिवेदनमा नेपाल सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको बताइएको छ ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेवा प्रदायक र नियामक निकाय अलग हुनुपर्ने लगायतका सुझावलाई कार्यान्वयन नगरेको भन्दै ईयूले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको जनाएको छ । ईयूले कालोसूचीबाट नहटाएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलन गरेर निगमका कारण नेपाल सुरक्षा चासोबाट नहटेको बताएका थिए ।

यस विषयमा प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण पनि सोधेको थियो । यसैबीच प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ दिने कम्पनी प्रतिस्पर्धाबाट छान्ने भएको छ । आइतबार प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट कम्पनी छान्न आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनी छनोट गर्ने बोलपत्र सम्बन्धी कागजात तयार पार्न निर्देशक सुनील कुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति प्राधिकरणले गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्