खाद्यान्न आयात न्यूनीकरणका उपाय «
Logo

खाद्यान्न आयात न्यूनीकरणका उपाय

फाइल तस्बिर ।

यस धर्तीमा विभिन्न प्राकृतिक सम्पदा छन्, जसमध्ये भूमिलाई विशेष महत्वपूर्ण मानिन्छ । तर, यो सीमित प्रकृतिप्रदत्त उपहार हो । भूमि सम्पूर्ण मानव जातिको सम्पत्ति हो । जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा सम्पूर्ण मानव जातिको बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ । जसमध्ये खेतीपातीले धेरै वर्षअघिदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

पृथ्वीको कुल १३ लाख हेक्टर भूमिमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य छ, जसमध्ये झन्डै १७ प्रतिशत मात्र सिञ्चित हुनाले भविष्यमा विश्वका धेरै देशमा भोकमरीको समस्याले विकराल रूप लिन सक्नेछ । वस्तुतः विश्वको धरातलअनुसार खेतीयोग्य भूभागको अधिकता, केही वनजङ्गल तथा झाडी, केही मरुभूमि आदि पाइन्छ । यहाँको भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको अधिकतम सदुपयोग गर्न कृषि उत्पादन बढाएर भोकमरीको समस्या न्यूनीकरण गर्न सकिन्छ । नेपाल एक कृषिप्रधान देश हो, जहाँ कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, दुःखको कुरा त के छ भने केही वर्षयता यहाँ खाद्यान्न आयात निरन्तर रूपले बढिरहेको छ ।

यथार्थतः ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेकोले यहाँ विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ । यहाँको हावापानीले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ । त्यसैले, यहाँ विभिन्न किसिमका कृषि उपज उत्पादन गर्न सकिन्छ । तर, त्यसका लागि सरकार तथा कृषकहरूको कटिबद्धताको खाँचो छ ।
सुहाउँदो हावापानी भएकाले यहाँका केही कृषि उपज विश्वमै प्रसिद्ध छन् । उदाहरणका लागि, यहाँ उत्पादित अलैंची विश्वमा प्रथम स्थानमा अङ्कित गरिएको छ भने अदुवा तेस्रो स्थानमा र मुसुरो छैटौं स्थानमा छ ।

वस्तुतः यहाँका विभिन्न स्थान विभिन्न बालीका लागि प्रख्यात छन् । उदाहरणका लागि सिँधुलीको जुनार, पाल्पाको अम्रिसो तथा तेजपत्ता, इलामको चिया, गुल्मीको कफी, सल्यानको अदुवा, हुम्ला-जुम्लाको स्याउ, संखुवासभा तथा तेह्रथुमका अलैंची र खुर्सानी विश्वप्रसिद्ध छन् । कुनै पनि कृषि उत्पादन अभिवृद्धि गर्न प्रशस्त पानीको आवश्यकता पर्छ, जुन नेपालमा भएर पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिएको छैन ।

नेपालमा झन्डै ६ हजार नदीनाला र दर्जनौं तालतलैया छन्, जसको सही परिचालन गर्न सके यहाँको सबै खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । तर, हालसम्म पनि यहाँका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्न नसकेकाले आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ । आगामी दिनहरूमा यहाँको कृषि उत्पादन वृद्धि गर्ने हो भने सिँचाइ सुविधा विस्तार गर्न आवश्यक छ । यसका लागि आवश्यकताअनुसार साना, मझौला र ठूला सिँचाइ आयोजनाहरूको निर्माण गर्नु जरुरी छ ।

जुनसुकै देशमा पनि कृषि उत्पादन वृद्धि गर्ने प्राङ्गारिक मलले महत्वपूर्ण भूमिका खेल्छ । अरू देशहरूमा जस्तै नेपालमा पनि प्राङ्गारिक मल सहजै उत्पादन गर्न सकिन्छ । यस्तो मल आवश्यकताअनुसार स्वदेशमै उत्पादन गर्न सके उपयुक्त समयमा आफ्ना खेतबारीमा हालेर बढी कृषि उपजहरू प्राप्त गर्न सकिन्छ । उक्त मलले यहाँको माटोको उर्वराशक्ति बढाई कृषि उत्पादन बढ्नेछ । आज विश्वका धेरै देशमा विभिन्न बालीमा कीटनाशक औषधि प्रयोग गर्ने चलन बढेको छ । जुन प्रत्येक व्यक्तिको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, प्राङ्गारिक मल यस्तो हानिकारक हुँदैन । यसले माटोको उर्वराशक्ति बढाउने हुनाले कृषि उत्पादन बढाउन मद्दत गरी रासायनिक मलको प्रयोगमा कटौती गर्नेछ ।

कुनै पनि देशमा उन्नत बीजबिजन प्रयोग गरेमा कृषि उत्पादन पहिलेको भन्दा झन्डै तेब्बर बढ्ने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । तर, हालसम्म पनि यहाँका धेरैजसो कृषकले रैथाने बीउबिजन प्रयोग गर्दै आएकाले सोचेअनुरूप उत्पादन प्राप्त गर्न सकेका छैनन् । यदि भविष्यमा यहाँको कृषि उपज बढाउने हो भने उनीहरूलाई उन्नत बीउबिजन प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ । तर, कुनै पनि बीउबिजन निश्चित समय अवधिसम्म मात्र प्रयोग गर्नुपर्छ । अन्यथा यसबाट कृषि उत्पादनमा ह्रास आउँछ ।

नेपाल विश्वका कम भूमि भएका देशहरूमध्ये एक हो, जसको भौगोलिक कारणले गर्दा खेतीयोग्य भूमि कम छ । जहाँ वर्षायाममा पहाडबाट बगेर आएको बलौटे माटो तराईको मलिला खेतीयोग्य जग्गामा जम्मा भई खाद्यान्न तथा अन्य बालीहरूको उत्पादनमा नकारात्मक प्रभाव परेको छ । रासायनिक मलको अधिकतम प्रयोग, पी.एच भ्यालुमा देखिएको कमी, पोटासमा विद्यमान कमी आदि कारणले नेपालको धेरै ठाउँको माटोको उर्वराशक्ति घट्दै गएको तथ्य यहाँको कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्कले इङ्गित गरेको छ । जसबाट यहाँका कृषि उपजहरूको परिमाण भविष्यमा न्यून हुने सम्भावना देखिन्छ ।

वस्तुलाई यहाँको खेतीयोग्य जग्गाको माटोको डिजिटल नक्साङ्कनमा खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय, ४–५ प्रतिशत क्षारीय र ४० प्रतिशत तटस्थ देखिन्छ । माटोको उर्वराशक्ति बर्सेनि क्षय हुँदै जाँदा भविष्यमा यहाँको कृषि प्रणालीमा गम्भीर संकट नआउला भन्न सकिँदैन । केही दशकअघिसम्म नेपालबाट अन्य देशहरूमा खाद्यान्न आयात गरिन्थ्यो । परन्तु, केही वर्षयता यहाँ खाद्यान्नलगायत धेरैजसो कृषिजन्य वस्तु निरन्तर रूपले आयात गर्न थालिएको छ, जुन कृषि उत्पादनको कमीले गर्दा हो ।

नेपाल व्यापार एकीकृत रणनीतिमा यहाँका निर्यातयोग्य वस्तुहरू अधिकांश कृषिजन्य छन् । तर, नेपाल सरकारले उक्त वस्तुहरूको स्वदेशमै उत्पादन गर्न उपयुक्त ध्यान नदिएकाले यहाँ खाद्यान्न तथा अन्य कृषि उपजहरूको उत्पादन अपेक्षित रूपमा बढ्न सकेन । आगामी दिनहरूमा यहाँ खाद्यान्न तथा अन्य कृषि उपजहरूको उत्पादन अभिवृद्धि गर्न रणनीति बनाई कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि एकातर्फ यहाँका कृषकलाई आवश्यक कर्जा प्रदान गर्नु आवश्यक छ भने अर्कातर्फ उनीहरूको विभिन्न बालीको बीमा गर्न उत्तिकै जरुरी छ । साथै, एकातिर यहाँको कृषिको आधुनिकीकरण गर्न आवश्यक छ भने अर्कातिर उपयुक्त ठाउँहरूको पहिचान गरी व्यवसायीकरण गर्न उत्तिकै जरुरी छ ।

कृषि उपजहरूबाट फाइदा लिन बजारको सुव्यवस्था गर्न आवश्यक छ । वास्तवमा यहाँ राम्ररी बजार व्यवस्थापन गर्न सके थप कृषि उपजहरूको आन्तरिक व्यापार अभिवृद्धि गर्न सकिन्छ । योबाहेक भारत र चीनबाहेक अन्य देशहरूसँग पनि निर्यात व्यापार बढाउन सकिन्छ । यथार्थतः नेपालमा कृषि विकासको थालनी गरिएको झन्डै नौ दशक भयो । सर्वप्रथम यस्तो सुरुवात वि.सं. १९९२ मा चारखाल अड्डाबाट गरिएको हो । सोही वर्ष कृषि विकासका लागि कृषि प्रदर्शनी पनि आयोजना गरिएको थियो । वि.सं. २०२१ मा कृषिक्षेत्रको सुधारका लागि भूमि सुधार ऐन लागू गरिए पनि खासै प्रभावकारी हुन सकेन । यसैगरी वि.सं. २०५२ मा दीर्घकालीन कृषि नीति ल्याइए पनि व्यवहारमा उतार्न सकिएन । पछिल्लो वर्ष बीसवर्षे (२०७२–९२) कृषि रणनीति प्रकाशमा ल्याई कृषि विकास गर्ने प्रयास गरिएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सम्बन्धित पक्षहरू कटिबद्ध हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्