नेपाल क्लियरिङ्ग हाउको बाह्रौं वार्षिक साधारणसभा
काठमाडाैं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७९/८० को आफ्नो बाह्रौं वार्षिक साधारणसभा आज र्याडिसन होटेल, काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले २८.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ति १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु. १,००६,६३७,९०० बराबरको हुनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २ अर्ब पुर्याउन स्वीकृत गरेको छ ।
कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ । साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ । आ.व. २०७९/८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको छ ।
सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमश: १–१ जना रहेका छन् ।