यसकारण रोकियो प्रधानमन्त्रीको सम्बोधन

बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने चर्चापछि सञ्चारकर्मीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगे । केही घण्टा प्रतिक्षा गर्दा पनि प्रधानमन्त्री देउवाले न त कुनै सम्बोधन गरे, न राजीनामाको घोषणा नै । तर, बालुवाटार स्रोतका अनुसार बुधबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने पत्र भने प्रधानमन्त्री देउवाले तयारी हालतमा राखेका थिए । बुधबार मन्त्रिपरिषद् बैठकपछि सम्बोधन गर्ने बताइए पनि प्रधानमन्त्री देउवाले सम्बोधन गरेनन् ।
उनले राजीनामा घोषणा नगर्नुको कारण मन्त्रिपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रिय सभाका ३ सदस्यको सिफारिस भएको बालुवाटार स्रोतको दाबी छ । मन्त्रिपरिषद्ले केही दिनअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गर्दै राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, ती नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेकी छैनन् । “अहिले नै राजनिामा दिँदा ३ जनाको नाम अनुमोदन नहुन सक्छ भनने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ,” देउवा निकट स्रोतले भन्यो, “अर्को सरकार आएपछि यी नाम अनुमोदन नहुने भएकाले नाम अनुमोदन भएपछि मात्र राजनिामा दिने निर्णयमा उहाँ पुग्नुभएको हो ।” पुनः ती नाम अनुमोदनका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भेटेर कुरा गर्ने पनि उनले बताए ।
राष्ट्रिय सभामा मनित्रपरिषद्बाट सिफारिसमा परेका पौडेल कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव, बस्नेत कांग्रेसका पुराना नेता हुन् भने जोशी महिला अधिकारकर्मी हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । ५६ जना निर्वाचित भइसकेका छन् ।