गण्डकीले संघीय टुक्रे योजना कार्यान्वयन नगर्ने «
Logo

गण्डकीले संघीय टुक्रे योजना कार्यान्वयन नगर्ने

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएका हुन् ।

म्याग्दीको घोडेपानीमा शनिबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले टुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिए ।

‘संघीय सरकारले प्रदेशलाई दुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र संघीय मन्त्रीलाई पाँच/सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिँदैन भनेको छु,’ उनले भने, ‘परिमाण नआउने साना र टुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूर्वाधार र सिँचाइ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।’

प्रदेश सरकारको कुल बजेटको ३५ र पुँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिए । संघीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुपर्ने चुनौतीको सामना गर्न परिणाममुखी काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती तथा आलटाल गर्ने छुट नहुने चेतावनी दिए । जनशक्ति अभावको समस्या समाधान गर्न करारमा कर्मचारी राख्ने अध्यादेश ल्याउनसमेत तयार रहेको र त्यसका लागि विपक्षी दलका नेतालाई समेत सहमत बनाएको बताउँदै पटकपटक एउटै समस्या देखाएर जिम्मेवारीबाट नपन्छिन आग्रह गरे ।

२०७६ को संघीय वन ऐनलाई देखाएर विकास आयोजनामा अवरोध सिर्जना गर्ने गतिविधि हुन थालेको प्रति असन्तुष्टि जनाउँदै मुुख्यमन्त्री पाण्डेले प्रदेशसभाले २०८० मा जारी गरेको वन ऐनमा टेकेर काम गर्न अनुरोध गरे । वन, आर्थिकलगायत नीतिगत समस्या समाधानका लागि मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालय तयार रहेको बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुन नदिने र योजना कार्यान्वयनमा सहजीकरण गरिने बताए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समीक्षा कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राम पराजुली, यातायात व्यवस्था महाशाखाका प्रमुख टिकाराम पौडेल, पूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयका प्रमुखहरूले चालु आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका लागि भएको पहलको विषयमा जानकारी गराए ।

प्रदेश सरकारले पर्यटकीयस्थल घोडेपानी पुग्ने सडकलाई स्तरोन्नति गर्ने
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीयस्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समीक्षा कार्यक्रममा स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व बचाउँदै सडक पूर्वाधार निर्माण गरिने बताए ।

‘चित्रेदेखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा नै तीन करोडको बजेट व्यवस्था गरेर बहुवर्षीय ठेक्का लगाउँछौं,’ उनले भने, ‘घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष ३० लाख विनियोजन भएको छ । थप बजेट ब्यवस्था गरेर यसै वर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौं ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले चालु आर्थिक वर्षमा ३० लाख विनियोजन भएको चित्रे–घोडेपानी सडकका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर तीन करोडको बहुवर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको बताए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडाध्यक्ष रामबहादुर खड्का, गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले अनुरोध गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले कास्कीको तिखेढुंगा हुँदै उल्लेरी जोड्ने सडक स्तरोन्नति गर्ने पूर्वाधार विकास कार्यालय कास्कीमार्फत् पाँच करोड बजेट बराबरको बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको बताए । कास्कीको नयाँपुल, तिखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने बताए । मुख्यमन्त्री पाण्डेले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा पहिचान हुने पदमार्गको विकासमा प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्