काउलीको दुई नयाँ जात विकास

काठमाडौं– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काउलीका दुई नयाँ जात विकास गरेको छ । नार्कले तराई– १ र तराई–२ गरी दुई प्रकारका अगौटे जातको बेमौसमी काउली विकास गरेको हो । बेमौसमी जातहरूको परीक्षण गरी उन्मोचन गर्ने सिफारिसको लागि तयारी गरिएको छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गर्न पाउने गरी सिफारिसको तयारी नार्कले गरेको हो ।
नार्कअन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटार, ललितपुरका अनुसन्धानकर्ता नवीन गोपाल प्रधानले यी नयाँ जात विकास गरेका हुन् । उनले तराई १ र तराई २ गरी दुई प्रकारका अगौटे जात सिफारिस भए लगत्तै तिनको बीउ बजारमा आउने गरी तयारी गरेको जानकारी दिए । केन्द्रको खुमलटारस्थित बागवानीमा, कास्कीको लुम्ले र धनकुटाको पाख्रिवासमा यी जातहरूको सफल परीक्षण गरिएको र नतिजा उत्साह जनक आएको प्रधानको भनाइ छ ।
‘काउलीले बढी मूल्य पाउने समय तीज, सोह्रश्राद्ध, दशैंलगायतका चाडपर्वमा हुने भएकाले यी समयसम्ममा यो दुवै जातको काउली फल्ने र खान मिल्ने हुन्छ’ अनुसन्धानकर्ता प्रधानले भने, ‘सोह्रश्राद्धमा त धेरै मानिसहरू शाकाहारी रहने र काउलीको माग बढ्ने हुनाले यसबाट उपभोक्ता, किसानलगायत सबै लाभान्वित हुनेछन् । यो समयमा नेपालमा काउलीको उत्पादन नहुने, विदेशी काउली नेपाल आउने र महँगो पनि हुने भएकाले स्वदेशी अगौटे जातको बेमौसमी काउली सस्तोमा उपलब्ध हुनसक्छ ।’
प्रधानका अनुसार काउलीका यी दुई प्रकारका जातहरू पहाड र मध्य पहाडी जिल्लाहरूमा असार, साउन र भदौ महिनामा लगाउन सकिन्छ । यी जात अरू समयमासमेत लगाउन मिल्छ । बर्षा महिनामा लगाउँदा तरकारी अभाव हुने चाडपर्वहरूमा उत्पादन लिन सकिन्छ । सो सिजनमा विदेशबाट आएकाभन्दा यी काउलीहरू सस्तो हुनेछन् । यी जातका काउलीको साइज तुलनात्मक रुपले सानो हुने भएकाले सहरिया सानो परिवारका लागि सिँगै फूल किन्न सकिने र यिनलाई कम दुरीमा पनि लगाउन सकिन्छ । प्रति इकाई जग्गामा काउलीका धेरै फूल उत्पादन गर्न सकिने अनुसन्धानकर्ता प्रधानको भनाइ छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा बेमौसमी तरकारी आयातका कारण अर्थतन्त्रको ठूला हिस्सा खर्च भई विदेसिने गरेको अवस्थामा नेपालमै अनुसन्धान गरी विकास गरिएका यी जातहरूबाट व्यावसायिक काउली उत्पादनमार्फत सरकारले लिएको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको नीतिमा सघाउ पुग्ने बताए । भविष्यमा यी जातहरू व्यावसायिक रुपमा लगाउन सके बर्षायाममा काउली खेती गर्न नसकिने ठाउँहरूमासमेत यिनको आपूर्ति हुँदा तरकारीको आपूर्ति ग्रामीण बजारहरूमा गर्न सकिने उनको भनाइ छ ।