७० प्रतिशत स्टल बुकिङ «
Logo

७० प्रतिशत स्टल बुकिङ

पोखरा– पोखरामा हुन लागेको १९ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म ७० प्रतिशत अग्रिम स्टल बुकिङ भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष पहिलो साता पोखरामा हुने उक्त महोत्सवमा हालसम्म ७० प्रतिशत अग्रिम स्टल बुकिङ भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक विनोद श्रेष्ठले बताए ।

पुष ५ देखि १६ सम्म आयोजना हुने उक्त महोत्सवमा ३३४ वटा स्टल रहने भएका छन् । शनिबारसम्म २४० स्टल बुकिङ भईसकेको संयोजक श्रेष्ठले जनाए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूलाई समावेश गरिने भएको छ ।

महोत्सवमा नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरू समावेश गरिने आयोजकको दाबी छ । यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिप हस्तान्तरण, साहित्य, कला, संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने संयोजक श्रेष्ठले जनाए । सुन्तला प्रदर्शनीबाट सुरु भएको उक्त महोत्सव विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुँदै आइरहेको छ ।

महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ । योसँगै आन्तरिक एंव बाह्य पर्यटकहरूलाई आकर्षित गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने प्रचारप्रसार समिति संयोजक उपेन्द्रराज सुवेदीले बताए । नेपाल उद्योग वाणिज्य महासंघको समेत आयोजनामा हुने उक्त महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालि मुख्य प्रायोजकको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्