अलैंची बजारीकरण समस्या समाधान गर्न माग «
Logo

अलैंची बजारीकरण समस्या समाधान गर्न माग

बिर्तामोड– अलैंचीको उत्पादन, गुणस्तर र बजारीकरणमा देखिएको समस्या समाधान गर्न नेपाल अलैंची व्यवसायी महासंघले सरकार समक्ष माग गरेको छ । स्विस सरकारको सहज कार्यक्रमअन्तर्गत अलैंची व्यवसायी महासंघले झापाको बिर्तामोडमा अलैंचीको वर्तमान अवस्था र बजारीकरणका सम्भावनाहरू विषयक कार्यक्रममा व्यावसायीहरूले त्यस्तो माग गरेका हुन् ।

पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंचीखेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको छ । अलैंचीखेती तथा उत्पादनदेखि बजारको समस्याले पछिल्लो समयमा अलैंचीको मूल्यमा गिरावट आएसँगै पछिल्लो समय दर्जनौं समस्या थपिएकाले समस्या समाधान गर्न महासंघ अध्यक्ष निर्मल भट्टराईले आग्रह गरे ।

कार्यक्रममा सहभागी उद्योग कृषि तथा सहकारी मन्त्रालय कोसी प्रदेशका सचिव लेखराज दाहाल, उपसचिव पशुपती पोखरेल, अलैंची उत्पादन हुने कोसी प्रदेशमा रहेका पहाडी जिल्लाबाट प्रतिनिधित्व गरेका कोसी प्रदेश सभासदस्य, कृषि ज्ञान केन्द्रका प्रमुख, कृषि विकास निर्देशनालयको प्रमुखसहित सम्बन्धीत निकायलाई महासंघका अध्यक्ष भट्टराईले अलैंचीखेती तथा व्यवसायमा रहेका समस्याहरूको हल गर्न आग्रह गरेका हुन् ।

अलैंची उत्पादनदेखि बजारको समस्याले पछिल्लो समय अलैंचीको मूल्यमा उत्तारचढाव आएको बताउँदै उनले अलैंची खेती तथा व्यवसायका समस्या सम्बन्धमा गम्भीर बन्न सरकार समक्ष आग्रह गरे । पछिल्लो समय अलैंचीको उत्पादन घटेको बताउँदै महासंघ अध्यक्ष भट्टराईले अलैंचीमा लामो समयदेखि लागेको रोग नियन्त्रण हुन नसक्नु, समयमा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु, सिँचाइ व्यवस्था हुन नसक्नु नै उत्पादन वृद्धि नहुनुको मुख्य कारण भएको बताए ।

उनले अलैंचीखेती तथा व्यवसायका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । नेपालमा अलैंचीको उत्पादन र खेती विस्तारका लागि कृषकहरूमा प्राविधिक ज्ञानको कमी, अलैंची सुकाउने आधुनिक भट्टीको अभाव, सिँचाइको पर्याप्त व्यवस्था नहुनु, मल–बीउको अभाव, जिल्ला तथा केन्द्र तहमा अलैंचीको गोदामघर नहुनु मुख्य समस्या रहेको भट्टराइले बताए ।

उनले गैरकानूनी तथा दोहोरो कर संकलन गर्नु, मूल्यको उतारचढाव, पछिल्लो समयमा भारत तथा भुटानमा तीव्र रूपमा अलैंची खेती विस्तार हुनु, विश्व बजारमा नेपाली अलैंचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा मात्र निर्भर रहनु मुख्य चुनौती भएकोमा जोड दिए । अलैंचीको भण्डारण गर्ने गोदामघरहरू निर्माण गर्ने, अलैंचीको महोत्सव सञ्चालन गर्ने, अलैंची बजारीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाउन सरकारलाई उनले आग्रह गरे ।

भट्टराईले अलैंचीको उत्पादनदेखि बजारसम्म देखिएका समस्या समाधानमा एउटा निकाय मात्रै सक्रिय भएर नपुग्ने अवस्था आएकाले कृषक र व्यवसायीका समस्या सरकारबाटै हल हुनुपर्ने जिकिर गरे । अलैंचीका विभिन्न समस्या सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहमा अलैंचीसम्बन्धी कुनै पनि नीति र कानुन नबनेका कारण आफूहरू समस्यामा परेको बताउँदै महासंघका अध्यक्ष भट्टराईले सरकारसमक्ष अलैंची खेती तथा व्यवसायको संवर्द्धन, विकास र प्रवर्द्धनका कार्यलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अलैंचीको विषय समावेश गर्न आग्रह गरे ।

अलैंचीबाट हुन सक्ने फाइदाको विषयमा जनस्तरसम्म कार्यक्रम पुर्‍याएर नेपालमै यसको खपत बढाउन अभियान सञ्चालन गर्नुपर्ने र यसका लागि तीनै तहमा अलैंचीसम्बन्धी नीति बनाउनुपर्नेमा उनले जोड दिए । अलैंचीखेती र व्यवसायका लागि सरकारको स्पष्ट नीति हुन नसक्दा सम्भावना भएर पनि अलैंचीखेतीको खेती विस्तार हुन नसकेको बताउँदै भट्टराईले अलैंचीको उत्पादन, गुणस्तर र बजारमा देखिएका समस्या समाधानमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिए । अलैंची महासंघले अलैंची उत्पादक कृषकदेखि सरकारसम्म कार्यक्रम गरी अलैंचीमा रहेका समस्या समाधानको प्रयास विगत केही वर्षदेखि गर्दै आएको बताएको छ ।

महासंघले पहिलो चरणमा कोसी प्रदेशका अलैंची उत्पादन हुने जिल्लाका किसान, व्यवसायी तथा सरोकारवालासँग छलफल गरिएको र त्यहाँ उठान भएका समस्या समाधानका लागि कार्यक्रम गरेको पनि बताएको छ । छलफलमा उठान भएका समस्या समाधानका लागि मस्यौदा समिति समेत बनाइएको र मस्यौदा समितिमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका उपसचिव पशुपति पोखरेल, तरहरा कृषि अनुसन्धान निर्देशनालयका गोविन्द तिक्सीना र महासंघका केन्द्रीय सल्लाहकार दीपक नेपाल रहेका छन् ।

आफूहरूले अलैंचीको उत्पादन, गुणस्तर र बजारीकरणमा देखिएका समस्या समाधान गर्न छलफलमा उठेका विषयवस्तुलाई कोसी प्रदेशका कृषि मन्त्री, प्रदेश सचिवसहित सरोकारवाला समक्ष छलफल गर्ने महासंघका केन्द्रीय सल्लाहकार नेपालले बताए । कार्यक्रममा अलैंची व्यवसायी तथा निर्यातकर्ताले अलैंची उत्पादकदेखि निर्यातकर्तासम्मका समस्यालाई सम्बोधन गर्न र अलैंचीको तेस्रो बजार खोज्न यथाशक्य चाँडो सरकारले पहल गर्नुपर्ने बताए ।

नेपालको अलैंची गुणस्तर र उत्पादनका दृष्टिले विश्व बजारमा पहिलो मानिँदै आएको भए पनि सरकारको असहयोगका कारण भारतको विकल्प खोज्न नसकिएको बताउँदै उनीहरूले अलैंचीको तेस्रो बजार खोज्न सरकारसमक्ष आग्रह गरे । कार्यक्रममा कोसी प्रदेशमा मकै, आलु, अलैंचीलगायतका कृषि वस्तुको खेती तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको सहज टिमका रिमा श्रेष्ठले बताइन् । उनले कृषकको कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्