बस सञ्चालक कम्पनी घाटामा «
Logo

बस सञ्चालक कम्पनी घाटामा

पोखरा– पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी घाटामा गएको छ । आर्थिक वर्ष २०७९/८० मा २० करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको खर्च भने २१ करोड ५४ लाख रुपैयाँ रहेको बताइएको छ ।

कम्पनीले बीमा व्यवस्थापन, दुर्घटना जोखिम व्यवस्थापनलगायतका विभिन्न शीर्षकमा आफ्ना सेयर सदस्यबाट एक वर्षमा २० करोड रुपैयाँ संकलन गरेको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । तर, आर्थिक वर्ष २०७९/८० मा २१ करोड ५४ लाख रुपैयाँ बीमा व्यवस्थापन, भलाइकोष, दुर्घटनापछिको व्यवस्थापनसहित विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको पनि केसीले बताए ।

संस्थाले यो वर्ष ९२ लाख ७३ हजार रुपैयाँ घाटा व्यहोरेको कम्पनीले बताएको छ । संस्थाले यो वर्ष बीमादेखि दुर्घटना जोखिम केही हदसम्म व्यवस्थापनको जिम्मा लिएसँगै यो वर्ष संस्थाको खर्च बढी भएको अध्यक्ष केसीले बताए । गत वर्ष संस्थाले १५ करोड ४७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरी विभिन्न शीर्षकमा १२ करोड ८७ लाख ५२ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेको थियो ।

संस्थाले गत वर्ष २ करोड ६० लाख ३० हजार रुपैयाँ वचत गर्न सफल भएको थियो । संस्थामा आबद्ध साना ठूला तथा मिनी बारसहितको स्तरीय भिआइपी सुपर एसी बस, पर्यटक स्तरीय बस र सामान्य बससहित गरी १ हजार २ सय ५५ वटा सवारी साधन रहेका प्रालिका अध्यक्ष केसीले बताए । लामो तथा छोटो दुरीका रुटहरूमा दैनिक ४२३ रुटहरूमा दैनिक ४५० भन्दा बढी सवारी साधनहरू नियमित रुपमा सञ्चालन भइरहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्