एनसेलको सेयर किनबेच मूल्यमा फेरि विवाद «
Logo

एनसेलको सेयर किनबेच मूल्यमा फेरि विवाद

काठमाडौं– निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलको सेयर किनबेचको मूल्य शंकास्पद देखिएको आरोप लागेको छ ।

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्विडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । यसको सात वर्षपछि सोही ८० प्रतिशत सेयर खरिदबिक्री गर्दा ५ करोड डलर अर्थात् ६ अर्ब ३७ करोड रुपैयाँमा मात्र भएको भनिएपछि कारोबार शंकास्पद रहेको आरोप लागेको हो । आजियटाले बेलायतको स्पेक्ट्रलाइट युकेलाई आफ्नो सबै सेयर बिक्री गरेको हो ।

पछिल्ला केही वर्षहरुमा एनसेलको आम्दानी घटे पनि अझै वार्षिक अर्बौं रुपैयाँ नाफा आर्जन गरिरहेको छ । कम्पनीले बर्सेनि सेवा विस्तार गरिरेको छ भने ग्राहक संख्या पनि बढ्दै गएका छन् । यस्तो अवस्थामा सेयर मूल्यमा गरिएको ‘लो भ्यालुएसन’ निकै शंकास्पद देखिएको सरोकारवालाहरु बताउँछन् ।

दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ । यसै व्यवस्था बमोजिम आउँदो २०८६ मा एनसेल सरकारको स्वामित्वमा जानुपर्ने हुन्छ । लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने २० अर्ब र सरकारी स्वामित्वमा जाने कम्पनीलाई व्यक्तिका नाममा राख्न सेयर खरिद–बिक्री गरिएको एक विज्ञ बताउँछन् । ‘कम्पनीको सेयर मूल्य घट्नुपर्ने कारण छैन । सेयर घटे पनि २०–३० प्रतिशतसम्म घट्ला या भनांै ५० प्रतिशत नै घट्ला तर ९५ प्रतिशत सेयर घट्यो भनिनु कर छली र लाइसेन्स जोगाउन गरिएको पूर्वयोजना हो,’ उनी भन्छन् । स्थापनादेखि गत आर्थिक वर्ष २०७८–७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । कमाइ गरेर नै कर तिरेको बताउँदै उनले सेयर मूल्यमा गिरावट आउनुपर्ने कारण नभएको कारोबारसँग बताए ।

आजियटा समूहले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युकेलाई बेचेको विज्ञप्तिमार्फत जनाएको छ । स्पेक्ट्रलाइट एनसेलको २० प्रतिशत सेयरधनी सतिषलाल आचार्यको बेलायती कम्पनी हो । एनसेलको सबै स्वामित्व अब यिनै आचार्यको भएको छ । आजियटाको विज्ञप्तिअनुसार स्पेक्ट्रलाइटले पाँच करोड अमेरिकी डलरमध्ये खरिद सम्झौता भएको ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र बाँकी चार करोड ५० लाख अमेरिकी डलर अबको चार वर्ष अर्थात् सन् २०२७ सम्ममा तिर्नेछ ।

एनसेलमा स्वदेशीतर्फको २० प्रतिशत सेयर लगानीकर्ता सुनिभेरा क्यापिटल लिमिटेड आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको नाममा छ । अहिले विदेशी लगानीतर्फ आजियटासँग रहेको ८० प्रतिशत सेयर आचार्यको नाममा रहेको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरिएको छ ।

कर्पोरेट कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डित नेपालको कानुनले यस विषयमा प्रष्ट नपारे पनि यो खरिदबिक्रीका विषयमा संशय रहेको बताए । उनले भने, ‘नेपालको कानुनले ‘नन लिस्टेड’ कम्पनीको सेयर मूल्यांकनका विषयमा बोलेको छैन । तर, भोलिका दिनमा ठूलो मूल्यमा कारोबार भएको कागजातले प्रमाणित भए यो गम्भिर मुद्दा हुनेछ । नन लिस्टेड कम्पनीको सेयर दुई पक्षबीचमा हुने समझदारी हो, तर कानुन छल्न यसो गरिएको भए नेपालको कानुनमात्र होइन– बेलायत, सिंगापुर र मलेसियाको समेत कानुन आकर्षित हुन्छ । कम मूल्य देखाएको भए झनै ठूलो अपराध हो ।’

यसअघिको पहिलो सेयर खरिद–बिक्रीमा पनि पुँजीगत लाभकर विवादमा परेको थियो । आजियटाले बुधबार कम्पनी बिक्रीमा राखिएको घोषणा गरेकामा शुक्रबार बिक्री भएको जानकारी दिएको छ । आजियटा समूहले व्यावसायिक चुनौती बढेको भन्दै एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । ‘नेपालबाट फिर्ता लिने समूहको निर्णय नेपालको प्रचलित व्यापारिक वातावरणको गहन मूल्यांकनमा आधारित छ, जसले गर्दा अनुचित कर र नियामक अनिश्चितताको वर्तमान परिस्थितिमा सञ्चालन जारी राख्नु आजियटाका लागि दिगो छैन भन्ने निष्कर्षमा पुग्यो,’ आजियटाले उल्लेख गरेको छ ।

दोहोरो करको परिदृश्यबाट उत्पन्न हुने आशन्न र अस्तित्वको जोखिमलाई ध्यानमा राख्दै आउँदो ६ वर्षपछि हुने कम्पनीको मोबाइल इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, नेपाल सरकारद्वारा आजियटाको हिस्सेदारी हडप्ने सम्भावना र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै बाहिरिएको उसले जनाएको छ । आगामी १६ भदौ २०८६ मा अर्थात् झण्डै साढे पाँच वर्षमा एनसेलको लाइसेन्स समाप्त हुँदैछ । अहिलेकै सेयर संरचनामा रहिरहे एनसेलको सम्पूर्ण सम्पत्ति तथा पूर्वाधार नेपाल सरकारको नाममा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्