अमेरिका र चीनको व्यापारयुद्ध «
Logo

अमेरिका र चीनको व्यापारयुद्ध

एक समय यस्तो पनि थियो कि अमेरिका र चीनको व्यापारमा चीनसँग मात्रै अमेरिकाको व्यापारघाटा ७ सय अर्ब अमेरिकी डलरसम्म पुगेको थियो । विश्वका यी दुई ठूला अर्थतन्त्रबीचको व्यापारले विश्व अर्थतन्त्रमा मनग्य प्रभाव पारेको देखिन्छ । सन् १९८० र १९९० को दशकमा भएको भूमण्डलीकरणको विस्तारले चीनले आफ्नो अर्थव्यवस्थाको विस्तार गर्न धेरै लाभ लिएको थियो । विश्वमा अमेरिकापछि सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी भित्यार्उने देशमा चीन पथ्र्यो र धेरै अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले चीनमा गरेका लगानीको कारण चीन एकातिर विश्वको कारखानामै परिणत भयो भने अर्कातिर यही अवधिमा चीन विश्वको ठूलो अर्थतन्त्र बन्न पनि सफल भयो ।

बोइङदेखि एप्पलसम्मका कम्पनीहरूले चीनमा आफ्नो कारखाना खोलेका थिए । चीनले अरू उद्योगका लागि आवश्यक अवयवका कारखानाहरू पनि विस्तार गर्दै गएपछि विश्वको आपूर्ति सिक्रीमा पनि आफ्नो स्थान मजबुत बनाउन चीन सफल भएको छ । पछिल्ला वर्षहरूमा चीनले प्रविधि र पुँजीगत वस्तुहरूको निर्यातमा बढी जोड दिएको पाइन्छ । यसैले चीनमा अहिलेको सुस्तता आउनुअगाडि चीनले विश्वको निर्यात व्यापारमा १३ प्रतिशत हिस्सा ओगटेको थियो, जुन एउटा देशले निर्यात व्यापारमा यतिका हिस्सा ओगटेको आर्थिक इतिहासमा पहिलो घटना मान्नुपर्छ । आफ्नो अर्थव्यवस्था मजबुत भएपछि चीनले पनि विश्व भू–राजनीतिमा आफ्नो स्थान खोज्न थाल्यो र यसैबाट अमेरिका र चीनको बीचमा व्यापारयुद्धको सुरुवात भयो ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपति ट्रम्पले अरू पश्चिमी देशहरूले सहयोग नगरे तापनि असफल रूपमा चिनियाँ वस्तुहरूमा भन्सार लगाउन थाले र यसले गर्दा दुई देशबीचको वैदेशिक व्यापारको मात्रामा केही कमी आएको छ । बाइडेनले ट्रम्पको कदमलाई समर्थन गर्दै चिनियाँ वस्तुहरूमा थप महसुल लगाउने कार्य मात्र गरेनन् कि आर्टिफिसियल इन्टेलिजेन्स र सेमी कन्डक्टरहरूको निर्यातमा समेत प्रतिबन्ध लगाए । यसका साथै आफ्नै देशमा सोलार प्यानल निर्माण गर्न सहुलियतको घोषणा इन्फ्लेसन रिडक्सन ऐनमा सही गरेर दिए र अरू देशहरूबाट आयात हुने विद्युतीय सवारी साधनहरूमा भन्सार महसुल लगाए तापनि चीनबाट आयात हुने यी साधनमा त्यो छुटको सुविधा दिन वञ्चित गरे । यस प्रकार विकसित उत्पादन प्रक्रिया अपनाई प्रतिस्पर्धा र संरक्षणलाई एकैसाथ बढावा दिने पश्चिमी देशहरूको नीतिको अमेरिका स्वयंले नेतृत्व गरेको देखिन्छ । उता चीनले पनि अमेरिकामा सेमी कन्डक्टर निर्यातमा प्रतिबन्ध लगाए । यस प्रकार चीन र अमेरिकाबीचको व्यापार भू–राजनीतिक द्वन्द्वको सिकार बन्न पुगेको देखिन्छ ।

अमेरिकाको यी कदमले गर्दा चीनमाथिको आयातमा निर्भरता केही हदसम्म घटाउन सफल भएको देखिन्छ । सन् २०२२ मा अमेरिकाको सामान आयातमा चीनबाट आयात हुने वस्तुहरूको योगदान ६० प्रतिशत रहेकोमा अहिले आएर १६ मा झरेको पाइन्छ । चीनले आपूर्ति सिक्रीमा विश्व व्यापारमा जुन भूमिका खेलेको छ त्यसले गर्दा चीनबाट आयात गर्ने सामानको हिस्सा घटे तापनि जुन देशबाट अमेरिकाले सामान आयात गर्छ ती देशले चीनबाट पर्याप्त मात्रामा अवयवहरू आयात गरी सामान उत्पादन गरेर अमेरिकामा निर्यात गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा भियतनामलाई लिन सकिन्छ । यी देशहरूको आपूर्ति सिक्रीको माध्यमबाट चीनसँग गहिरो आर्थिक सम्बन्ध रहेको देखिन्छ । अमेरिकाको आयातमा मेक्सिकोको योगदान पनि बढेको पाइन्छ, तर मेक्सिकोका धेरै कम्पनीलाई आवश्यक पर्ने अवयवहरू चीनबाट आयात हुने गरेका कारण चीनको विश्वको आपूर्ति सिक्रीमा अतुलनीय हिस्सा रहेको प्रमाणित हुन्छ ।

अहिले चीनले विद्युतीय सवारी साधनको निर्माण र निर्यातमा जुन सफलता प्राप्त गरिरहेको छ, त्यसमा विद्युतीय सवारी साधनका लागि आवश्यक अवयवहरूको कारखानासमेत विस्तार गरेको पाइन्छ । यसले गर्दा चीनको आपूर्ति सिक्रीमा भविष्यमा पनि कमी आउने सम्भावना छैन । अमेरिका र चीनबीचको भू–राजनीतिक द्वन्द्वको समाधान गर्ने उपायका रूपमा व्यापारलाई लिन सकिने धेरै विश्लेषकको राय रहेको पाइन्छ । यस सम्बन्धमा विश्व बैंकले चीन र अमेरिकाको व्यापार सम्बन्धमा पहिला अग्र पृष्ठपोषणमा हुने गरेकोमा अहिले आएर यो अप्रत्यक्ष सम्बन्ध वा लिंकेजमा चलेको निष्कर्ष निकालेको पाइन्छ । यसै विषयलाई लिएर विश्व व्यापार संगठनले अहिलेको यो व्यापार सम्बन्धलाई चीन र अमेरिकाको भू–राजनीतिक द्वन्द्वले प्रभाव पारेको र डी–ग्लोबलाइजेनले होइन भन्ने आफ्नो प्रतिक्रिया जनाएको पाइन्छ ।

अमेरिका–चीन व्यापारको अर्को पक्ष भनेको चिनियाँ बजार हो । विगत तीन दशकको आर्थिक वृद्धिका कारण चीनको मध्यमवर्गीय जनसंख्या नै ४० करोड भएको अनुमान गरिएको छ । उनीहरूले उच्च गुणस्तरको वस्तु तथा सेवा खोज्ने भएकाले चीन विश्वकै एउटा आकर्षक बजारको रूपमा अगाडि आएको छ । उदाहरणका लागि अमेरिकी कृषकहरूलाई चीन एउटा राम्रो बजार सिद्ध भएको छ । चिनियाँ जनताका लागि आवश्यक अधिकांश बंगुरको मासु अमेरिकाबाट आयात गर्ने गरेको पाइन्छ । हालका दिनहरूमा चीनको यो बजारलाई अरू देशहरूजस्तै अस्ट्रेलिया, जर्मनी आदिले पनि उपयोग गर्न खोजेको पाइन्छ । उदाहरणका लागि अस्ट्रेलियाले वार्षिक रूपमा चीनमा करिब डेढ अर्ब अमेरिकी डलरबराबरको वस्तु निर्यात गरेको पाइन्छ ।

गत वर्षको डिसेम्बरमा चीनले कोभिडका नियन्त्रणात्मक बन्देजहरू हटाएपछि चीनको अर्थव्यवस्थामा युवा बेरोजगारीको संख्या बढ्नु, मूल्य संकुचन हुनु, औद्योगिक क्षेत्रको उत्पादन घट्नु र हाउजिङ बजारमा संकुचन आउनु तथा जनताले उपभोगमा खर्च कटौती गरी बचत गरेबाट जुन सुस्तता आएको छ त्यसलाई छिचोल्न पनि अमेरिकासँगको व्यापार सम्बन्धलाई चीनले सुधार गर्नुपर्ने भयो । विश्वभरि नै ब्याजदरका साथै र मुदास्फीति बढेका कारण चिनियाँ निर्यातमा कमी आउनुले चिनियाँ अर्थव्यवस्थाको सुस्तताको आगोमा घ्यू थप्ने काम भएको छ । यसका साथै भू–राजनीतिक द्वन्द्वका कारण धेरै अमेरिकी कम्पनीले आफ्नो कारखानास्थल चीनबाट भियतनाम, थाइल्यान्ड आदि देशहरूमा स्थानान्तरण गरेको छ, जुन चीनका लागि चिन्ताको विषय बनेको छ । एकातिर चीनलाई अमेरिकी कम्पनीहरूको लगानी आवश्यक छ भने अर्कातिर प्रविधिको पनि त्यत्तिकै जरुरी भएको छ ।

अहिले पनि विश्वको आपूर्ति सिक्रीमा चीनको महत्वपूर्ण योगदान रहेको, सन् २००८ को वित्तीय संकटपछि र कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि विश्व अर्थव्यवस्थाको पुनरुत्थानमा चीनले खेलेको भूमिका, विश्वका उदीयमान देशहरूमा समेत चीन एउटा महत्वपूर्ण ऋणदाताको रूपमा रहेको र चीनले क्षेत्रीय आर्थिक संगठनहरूमा गरेको विस्तारको परिप्रेक्ष्यमा अहिले चीनमा देखा परेको सुस्तताका कारण मात्र अमेरिकाले यो व्यापारयुद्ध जित्छ र चीनको विश्व अर्थव्यवस्थामा रहेको योगदान मनग्य रूपमा घट्छ भनेर निष्कर्ष निकाल्नु अपरिपक्व हुनेछ ।

प्रतिक्रिया दिनुहोस्