पशु अधिकार हनन्प्रति गृहमन्त्रीको ध्यानाकर्षण «

पशु अधिकार हनन्प्रति गृहमन्त्रीको ध्यानाकर्षण

नेपाल भेटेरिनरी एशोसिएसन र पशु कल्याण संघ नेपालले सुर्खेत र खोटाङमा भएका पशु अधिकार विरुद्धका घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट झण्डै ३७० को संख्यामा गाईगोरु, बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लैजाने भनी सुर्खेतको विरेन्द्रनगर नगरपालिका, वडा नं. ११ स्थित दैलेख सुर्खेत सडक खण्डको जंगलमा छोडिएको र सो क्रममा ठूलो संख्यामा गाईगोरु, बाच्छाबाच्छीको मृत्युसमेत भएको घटना र खोटाङस्थित दिक्तेल बजारमा सामुदायिक कुकुर नियन्त्रणको नाममा क्रुरतापूर्वक अमानविय ढङ्गबाट कुकुरलाई मारेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
एकपछि अर्को गरी पशुप्रति निर्दयी र क्रुर व्यवहार हुनुमा सरकारले समयमा नै कानुनबमोजिम दोषीहरुलाई कारवाही नगरेकै कारण समाजमा दिन प्रति दिन यस किसिमका घटना बढ्दै गएको एसोसिएसन र संघको ठम्याइ रहेको छ । दोषी उपर छानविन तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, खोटाङमा दिइएको उजुर दर्ता गर्न इन्कार गरेको प्रति पनि घोर आपत्ति जनाउँदै दुवै संस्थाले गृहमन्त्रीको विशेष ध्यानाकर्षण गराएका छन् । मुलुकी अपराध संहिता २०७४ ले पशुपक्षी छाडा छाड्ने कार्यलाई सार्वजनिक न्याय विरुद्धका कसूरका रुपमा परिभाषित गरेको स्मरण जारी विज्ञप्तिमा गराइएको छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
घटनाको स्वतन्त्र एवम् निष्पक्ष ढङ्गबाट छानबिन भई दोषी उपर प्रचलित कानुनबमोजिम कारवाही र त्यसका लागि संलग्न पदाधिकारी एवं कर्मचारीलाई तत्काल निलम्बन गरी कानुनबमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडि बढाउन नेपाल सरकारसमक्ष माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्