राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक «
Logo

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माग ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशित हुनेगरी मंसिर १४ गते सो निर्वाचनको कार्यतालिका स्वीकृत गरी शुक्रबार (आज) सार्वजनिक गरिएको जानकारी दिएका हुन् । उनले दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताए । पौष १ गते ती दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

निर्वाचन आयोगका अनुसार पौष ४ गते दर्ता भएका दलहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । पौष १६ गते सो निर्वाचन प्रयोजनका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आयोगका प्रवक्ता पौडेलले पौष २० गतेदेखि २९ गतेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम हुन्छ । मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यो माथि दाबीविरोध, उजुरीहरु लिने, अन्तिम नामावली प्रकाशित गरिने बताए ।

मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरु सो अवधिमा हुने पनि प्रवक्ता पौडेलले बताए । कार्यतालिकाअनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकुल हुनेगरी मतदान स्थल तोक्नेछ । माघ ११ गते बिहान नौ बजेबाट अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार मतदान स्थलमा दुई वटा मतदान केन्द्र हुनेछ । प्रदेश सभा सदस्यहरुले मतदाता गर्ने मतदान केन्द्र हुन्छ । अर्को पालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने मतदान केन्द्र हुने व्यवस्था गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए । निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रियसभा निर्वाचनको मतभार पनि परिवर्तन गरेको छ ।

राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेश सभा सदस्यको हकमा ५३ र पालिका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहने गरी आयोगले निर्णय गरेको पनि प्रवक्ता पौडेलले बताए । फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्