कुखुरा, बंगुर र मदिरा नचल्ने गाउँ ‘गाजने’ «
Logo

कुखुरा, बंगुर र मदिरा नचल्ने गाउँ ‘गाजने’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा वर्षौंदेखि कुखुरा र बंगुर पालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागेपनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालिन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियम अनुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले वर्षौं पुरानो नियम पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसाथ गरी गाउँमा परापूर्वकालदेखि कुखुरा र बंगुर पालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने स्थानीय निलकण्ठ शर्माले बताए । ‘यो तत्कालिन राजाले बसालेको नियम हो, कहिलेकाँही केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरुको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्’ उनले भने ।

बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीप बम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुंगुर, बंगुर पालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।

तत्कालिन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आएका छन् । बीचको समयमा केही स्थानीयबासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साहकारी गाउँको रुपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बंगुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि चल्दैन ।

जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजा पताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा बमले १५औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थल समेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्