लमजुङ अस्पतालमा तोडफोड «
Logo

लमजुङ अस्पतालमा तोडफोड

लमजुङ– सुत्केरी महिला र शिशुको मृत्युको विषयलाई लिएर सदरमुकाम बेसीशहरस्थित लमजुङ अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहिका कारण महिला र शिशुको मृत्युभएको आरोप लगाउँदै विरोध प्रदर्शन गर्दै आएका पीडित पक्षले बिहीबार अस्पतालमा तोडफोड गरेका हुन् ।

प्रदर्शनका क्रममा पीडित पक्षले अस्पतालमा ढंगामुढा गर्ने, अस्पताल गेटमा टायर बाल्ने, उपचारमा संलग्न चिकित्सको कारबाही लगायतको मागसहित नाराबाजी गरेका थिए । प्रदर्शनकर्ताको ढुंगामुढा प्रहारबाट अस्पतालको गेट तथा डिजिटल बोर्डमा क्षति पुगेको छ । प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट दुई प्रहरी सामान्य घाइते भएको लमजुङ प्रहरीले जनाएको छ ।

घाइते प्रहरीको सोही अस्पतालमा उपचार गरीएको लमजुङका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । अस्पताल बाहिर तनावपूर्ण स्थिति भएपछि प्रहरीले लाठीचार्जसहित प्रदर्शन रोक्न अश्रुग्यास प्रहार गरेको थियो । अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

प्रसुती सेवाका लागि सोमबार लमजुङ अस्पतालमा भर्ना भएकी मस्र्याङदी–९, पामचोककी २६ वर्षिया शोभा विकको मंगलबार मृत्यु भएको हो । शल्यक्रियामार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको र महिलाको अत्याधिक रक्तश्रावपछि चितवन रिफर गरीएको अस्पताल प्रशासनले जनाएको छ । आफन्तजनले भने जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप तथा असन्तुष्टि जनाउँदै अस्पताल बाहिर प्रदर्शन गर्दै आएका छन् ।

स्वास्थ्य निर्देशनालयका महानिर्देशकको संयोजकत्वमा छानविन समिति गठन
जिल्ला अस्पतालमा भएको घटनाका विषयमा छानविनका लागि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा समिति गठन भएको छ । घटनाको विषयमा बुधबार प्रमुख जिल्ला अधिकारीको रोहवरमा पीडित पक्षधर र अस्पताल व्यवस्थापन समितिबीच छानविन समिति गठन गर्ने निर्णय भएको थियो ।

घटनाको विषयमा सत्यतथ्य छानविन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरे अनुसार महानिर्देशक खड्काको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन भएको हो । समितिमा बेनी अस्पतालकी कन्सल्टेन्ट डा. अञ्जु थापा, सामाजिक विकास स्वास्थ्य मन्त्रालय गण्डकी चिकित्सा शाखा प्रमुख रमेशकुमार केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रामचन्द्र बास्तोला रहेका छन् ।

त्यसैगरी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकी प्रशासन महाशाखा प्रमुख चण्डिका पौडेल सदस्य सचिव र पीडितका तर्फबाट स्थानीय कृष्णबहादुर विकलाई समितिमा राखिएको छ । छानविन समितिले एक साताभित्र घटनाको छानविन गर्ने र घटनामा अस्पतालको लापरवाही भएको पाइए सोही अनुसार कानुनी कारवाहिमा जाने सहमति भएको प्रजिअ अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्