१५ शैयाको नगर अस्पताल निर्माण सुरु «
Logo

१५ शैयाको नगर अस्पताल निर्माण सुरु

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको प्रतिबद्धताअनुसार १५ शैययाको नगर अस्पतालको निर्माण कार्य सुरु भएको छ ।

नगर अस्पताल निर्माणका लागि दबाब दिन गठित संघर्ष समितिले कात्तिक १८ गते स्थानीयसहितको सहभागितामा नगर अस्पताल निर्माणस्थलमा गरेको कार्यक्रममा नगरप्रमुख बोहराले छठपछि अस्पतालको निर्माण अघि बढाउने प्रतिबद्धता गरेका थिए । नगर अस्पताल निर्माणका लागि संघर्षका कार्यक्रम बनाउन संघर्ष समितिले जनप्रतिनिधि र स्थानीयसहितको सहभागितामा नगर अस्पताल निर्माणका कार्यक्रम गरेको थियो ।

नगरप्रमुख बोहराले छठपछि अस्पताल निर्माण कार्यअघि बढाउने प्रतिबद्धता जनाएपछि तत्कालका लागि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो । त्यसैगरी नगर अस्पताल निर्माण संघर्ष समितिका संयोजक खगेन्द्र नाथले नगर बासिन्दाको माग र चाहनाअनुसार नगर अस्पताल निर्माण कार्य सुरु भएको बताए । उनले भने, ‘नगरप्रमुखले प्रतिबद्धता गरेपछि तत्काल संघर्षका कार्यक्रम स्थगित गरी प्रतिबद्धता कार्यान्वयनको आशामा थियौं, काम पनि भएको छ । अब निर्माण कार्य सम्पन्न गरी नगर अस्पताल सञ्चालनमा आउनु पर्छ ।’

संघर्ष समितिले अस्पताल सञ्चालन ल्याउनका लागि सधै दबाब दिने गरेको छ । काम सुरु गरेर फेरि रोकेर अलपत्र पार्ने कार्य गरिनु हुँदैन, उक्त यो अस्पताल निर्माण भएर सञ्चालनमा आउँदासम्म हामी निरन्तर दबाब दिने नाथ बताए । त्यसैगरी स्थानीय तहमा १५ र १० शैयाको अस्पताल बनाउने सरकारी नीतिअनुसार बेदकोट नगरपालिका–३ दैजीमा १५ शैयाको नगर अस्पताल २०७८ साल वैशाख २२ गते राजेन्द्र निर्माणसँग नौ करोड ७४ लाखमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार अस्पताल निर्माण नभएर ठेक्का सम्झौताको दुई वर्षे म्यादसमेत सकिएको छ । ठेकेदार कम्पनीले सम्झौतापछि नगरपालिका कार्यालयबाट ८५ लाख पेश्की लिएर निर्माण कार्य सुरु नगरेपछि गत आर्थिक वर्ष स्थानीय नाथको नेतृत्वमा संघर्ष समिति गठन गरी दबाब दिन थालिएको थियो । त्यसैगरी संघर्ष समितिको अगुवाइमा अस्पताल निर्माणका लागि नगरपालिका कार्यालयमा धर्ना बसेपछि गत आर्थिक वर्ष अस्पताल बनाउन पर्खाल निर्माणसमेत सुरु गरिएको थियो ।

ठेकेदार कम्पनीले पर्खाल निर्माणकार्य अधुरो छाडेर गएपछि गत कात्तिकमा संघर्ष समितिले फेरि सर्वपक्षीय र सर्वदलीय छलफल गरी अस्पताल निर्माणका लागि दबाब दिएको थियो । त्यसैगरी ठेकेदार कम्पनीले अहिले गंगेश्वर बेताल निर्माण सेवालाई अस्पताल निर्माणकार्य जिम्मा दिएको छ भने भवन निर्माणका लागि पिलर खडासमेत गरिएका छन् । नयाँ ठेकेदार कम्पनीले जिम्मा लिएर निर्माण कार्य सुरु गरेकाले स्थानीयमा अस्पताल बन्ने आशा पलाएको संघर्ष समितिका संयोजक नाथले बताए ।

गत आर्थिक वर्ष स्थानीय तह निर्वाचनबाट नगरप्रमुखमा निर्वाचित भएपछि बोहराले अस्पताल निर्माणको साइट क्लियर गराएका थिए । त्यसअघि ठेकेदार कम्पनीले साइट क्लियर नभएको भन्दै काम सुरु गर्न नसकिएको गुनासो गर्दै आएको थियो । अस्पताल बनाउन दैजीस्थित शारदा माध्यमिक विद्यालयले भोगलचन गर्दै आएको १२ कट्ठा जमिनसमेत उपलब्ध गराएको छ । हालसम्म अस्पताल निर्माणकार्य तीन प्रतिशत भएको नगरपालिका कार्यालयका प्राविधिकले बताएका छन् ।

नगरपालिकाका नगरप्रमुख बोहराले आफूले नगर अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढेको बताए । उनले भने, ‘यसलाई प्राथमिकता दिएर लागिरहेका छाैं, निर्माण कम्पनीसित कुराकानीसमेत भएको छ, यसमा म सधैं प्रतिबद्ध भएर लाग्ने छु ।’ त्यसैगरी उनले नगर अस्पताल संघर्ष समितिले अस्पताल निर्माणसम्बन्धी नगरपालिका कार्यालयमा राखेको छलफल कार्यक्रममा कार्यालय बाहिर भएका कारणले गर्दा अनुपस्थित भएको अर्को दिन निर्माणस्थलको छलफलमा सहभागी भएर प्रतिबद्धता गरेको बताए ।

नगरपालिका कार्यालयमा भएको सर्वपक्षीय छलफलमा कार्यक्रममा उपस्थित जनप्रतिनिधिले वास्ता नगरेपछि संघर्ष समितिले अर्को दिन आन्दोलनको तयारीका लागि छलफल कार्यक्रम राखेको थियो । अस्पताल निर्माण छलफलमा उपस्थित नभएको भन्दै जनप्रतिनिधिको आलोचना भएको थियो । बेदकोट नगरपालिका–३ का वडाध्यक्ष धामीले अस्पताल निर्माणका लागि नगरप्रमुख बोहरा र आफूले चुनाव जितेपछि दुई पटक ठेकेदार कम्पनीका सञ्चालकसित भेटघाट गरी दबाब दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्