क्लिंकरको समस्या डेढ महिनासम्म सुल्झेन «

क्लिंकरको समस्या डेढ महिनासम्म सुल्झेन

भारतको रक्सोलवासीको अवरोधपछि स्थानीय सरकारले लगाएको प्रतिबन्धका कारण सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा उत्पन्न अवरोध यथावत रहँदा स्वदेशी सिमेन्ट उद्योगहरूको लागत बढेको छ । डेढ महिनादेखि उक्त नाकाबाट क्लिंकरको लोड अनलोड हुन सकेको छैन भने भारतीय पक्षले रेलमार्गबाट ल्याउन गरेको वैकल्पिक प्रस्ताव नेपाली पक्षले अझै स्वीकार गरेको छैन ।
सिमेन्ट उत्पादक कम्पनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर क्लिंकर आयात गर्न बाध्य भएका छन् । सिधा बाटोभन्दा वैकल्पिक बाटोबाट आयात गर्दा ढुवानी लागत बढेको सम्वद्ध व्यवसायीहरूको भनाइ छ । गत पुस पहिलो सातादेखि रक्सोल रेल्वेबाट क्लिंकर लोड अनलोडमा भारतीय पक्षले रोक लगाएपछि आयातमा समस्या भएको हो ।
क्लिंकर लोड–अनलोड गर्दा हुने धुलोका कारण रेल्वे यार्ड आसपासका बासिन्दाको स्वाथ्यमा गम्भीर असर परेको भन्दै विरोध सुरु भएको थियो । वीरगन्जको सिर्सियास्थित ड्राइपोर्टमा रेलबाट क्लिंकर झार्ने भन्दै रेलवे विभागले रक्सोल यार्डका लागि क्लिंकर बुकिङ बन्द गरेको हो । तर, लामो समयदेखि समस्या समाधान नहुँदा उद्योगीहरू मारमा परेका छन् भने सिमेन्टको मूल्य फेरि बढ्नसक्ने व्यवसायीहरूको भनाइ छ । यसअघि उद्योगीहरूले पटकपटक गरेर सिमेन्टको मूल्य बढाइसकेका छन् ।
अवस्था सामान्य रहेको बेला वीरगगन्जबाट दैनिक ३ हजार टन क्लिंकर आयात हुने सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापा बताउँछन् । तर, अहिले त्यो आयात ठप्प भएको छ भने वैकल्पिक प्रयोग गर्दा लागत बढेको उनी बताउँछन् । अब दुवै सरकारी पक्षबाट वार्ता नभएसम्म समस्या समाधान हुने लक्ष्यण देखिएको छैन । त्यसका लागि सरकारले पहल गरि सिमेन्टको भाउ बढ्नबाट रोक्नुपर्ने उनको भनाइ छ । “अहिले टनमा २ देखि ३ हजार रुपैयाँ खर्च बढेको छ, यति लामो समय हुँदासम्म पनि समाधान हुने कुनै लक्षण छैन तत्काल सरकारले बार्ता गरेर समस्या सुल्झाउनुपर्छ” अध्यक्ष थापाले भने । बारा पर्सा करिडोरमा विश्वकर्मा, अम्बे, शालिमार लगायतका एक दर्जन ठूला सिमेन्ट उद्योग छन् । यी उद्योगले अहिले बिहारको मुज्जफरपुर र जोगवनी नाका भएर क्लिंकर आयात गर्ने गरेका छन् । वीरगञ्जदेखि मुज्जफरपुरसम्मको दूरी झन्डै १ सय ५ किलोमिटर छ । दूरीमात्र धेरै नभएर अहिले नेपाली ढुवानीकर्ताले भारतीय गाडीमा पनि भर पर्नुपरेको सम्बद्ध उद्योगीहरूको भनाइ छ ।
वीरगञ्ज भन्सार नाका हुँदै आयात हुने मुख्य १५ वस्तुमध्ये क्लिंकर पनि पर्छ । क्लिंकर आयातमा समस्या देखिएपछि त्यसको असर राजस्व संकलनमा पनि देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज नाका हुँदै ४ लाख ४६ हजार ८ सय ९२ मेट्रिक टन क्लिंकर आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आव ०७३-७४ को ६ महिनामा ४ लाख ९२ हजार २ सय २१ मेट्रिक टन क्लिंकर आयात भएको थियो । पुस महिनामा क्लिंकर आयात घटेको देखिन्छ । मंसिर महिनामा ६३ हजार ७ सय १० मेट्रिक टन क्लिंकर आयात भएकोमा पुस महिनामा ४२ हजार ७ सय ८७ मेट्रिक टन मात्रै क्लिङकर आयात भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२-७३ मा ९ अर्ब ९३ करोड ५४ लाख ९० हजार ५ सय ८९ रूपैयाँ बराबरको १ अर्ब ४७ करोड १८ लाख ६७ हजार ७ सय ७७ टन क्लिंकर आयात भएको छ । त्यस्तै आव ०७१-७२ मा ८ अर्ब ४० करोड १४ लाख ४६ हजार रूपैयाँ बराबरको १ अर्ब २३ करोड ४० लाख ३२ हजार टन आयात भएको छ । आर्थिक वर्ष ०७०-७१ मा ६ अर्ब ६४ करोड ७४ लाख ४६ हजार रूपैयाँको १ अर्ब ९ करोड ५५ लाख ९ हजार टन आयात भएको छ । त्यस्तै आर्थिक वर्ष ०६९-७० मा ५ अर्ब ९९ करोड ३० लाख ४४ हजार रूपैयाँबराबरको ९२ करोड २३ लाख ४३ हजार टन आयात भएको केन्द्रको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्