पर्यटकलाई बास र सडकको समस्या «
Logo

पाँच वर्षमा रारामा ४९ हजार पर्यटक

पर्यटकलाई बास र सडकको समस्या

जुम्ला– कर्णाली प्रदेशको मुगुस्थित रारा तालमा पर्यटक आगमन बढेको छ । सडकको सास्ती, होटलबासको समस्या, पर्यटन पूर्वाधारमा न्यून लगानीका बीच पनि हजारौंको संंख्यामा आन्तरिक तथा तथा बाह्य पर्यटक भित्रिरहेका छन् । तर पनि सम्भावनाअनुसार पर्यटक आगमन अपेक्षित रूपमा हुन सकेका छैन ।

एकपटक आएको पर्यटकलाई फेरि फर्काउने पूर्वाधार विकासको अभाव रहेको छ । पर्यटकको आगमनलाई मध्यनजर गर्दै संघीय सरकार तथा प्रदेश सरकारले रारा तालसम्म पुग्ने बाटो स्तरवृद्धि, नयाँ पर्यटकका लागि ठाउँठाउँमा अभिलेख, रारामा राम्रो होटल, होमस्टे निर्माणलगायतका क्षेत्रमा पर्याप्त लगानी गर्न जरुरी देखिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज मुगुको तथ्यांकअनुसार पाँच वर्षमा मात्रै ४९ हजार बढी नेपाली पर्यटकले रारा तालको अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि ०७९/८० सम्म पाँच वर्षमा ४९ हजार ८ सय ३४ जना पर्यटकले रारा तालको भ्रमण गरेका हुन् । जसमा आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ६ सय ६९, २०७६/७७ मा ९ हजार ७ सय ७०, २०७७/७८ मा १० हजार २ सय १७ जना पर्यटकले राराको भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख राजु घिमिरले जानकारी दिए ।

उनका अनुसार आव ०७८/७९ मा ११ हजार ४ सय ५१ र गत आर्थिक वर्ष ०७९/८० मा ६ हजार ७ सय २७ गरी पाँच वर्षमा कुल ४९ हजार ८ सय ३४ जना पर्यटक रारामा भित्रिएका थिए । तथ्यांक अनुसार बर्सेनि पर्यटकको संंख्या घट्दो मात्रामा देखिन्छ । प्राकृतिक सुन्दरता प्रचुर भए पनि राराले लाखौंको संख्यामा पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेको छ । पर्यटन क्षेत्रमा प्रदेशको लगानी पर्याप्त नहुँदा पछिल्ला वर्षमा पर्यटक घट्दै गएको प्रमुख घिमिरले बताए ।

नेपाली पर्यटकको आगमन सन्तोषजनक भए पनि रारामा विदेशी पर्यटकको आगमन निकै कमजोर रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म रारा तालमा ४ हजार ६ सय ११ जना पर्यटकले रारा भ्रमण गरेका छन् । दसैंतिहारको अवधिमा सबैभन्दा बढी आन्तरिक पर्यटक रारा पुगेका थिए । गत आवमा ६ हजार बढी पर्यटकबाट ११ लाख ६० हजार बढी राजस्व संकलन भएको थियो । अन्य वर्षको राजस्व संकलनको यकिन विवरण संकलन गरिरहेको निकुञ्जले जनाएको छ ।

१८ वर्षमा तीन हजार मात्रै विदेशी पर्यटक
पर्यटक क्षेत्रमा विदेशी पर्यटक आकर्षित गर्न सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि तथा जीविकोपार्जनमा सुधार हुने देखिएको छ । तर पनि रारा तालमा विदेशी पर्यटकको आगमनको अवस्था नाजुक रहेको छ । भ्रमण अवलोकनका लागि पर्याप्त पैसा खर्च गर्न सक्ने विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने योजना नबन्नु र पर्यटक मैत्री पूर्वाधार निर्माण नहुनु नै विदेशी पर्यटक न्यून हुनुको मुख्य कारण हुन् ।

विगत १८ वर्षको तथ्यांकलाई हेर्दा रारा तालमा २ हजार ९५२ जना मात्रै विदेशी पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०६२/६३ देखि आव ०७९/८० सम्म १८ वर्षको अवधिमा रारा तालमा २९ सय ५२ जना विदेशी तथा सार्क मुलुकका पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख राजु घिमिरेले जानकारी दिए । १८ वर्षमा न्यूनतम चारदेखि अधिकतम साढे चारसम्म विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

कोभिडपछि विदेशी पर्यटकको आगमन घटेको छ । सरकारले रारा पर्यटन वर्ष २०७५ घोषणा गरेर व्यापक प्रचार गरेपनि पर्याप्त पूर्वाधार निर्माण र पर्यटन क्षेत्रमा लगानी नगर्दा अपेक्षित पर्यटक आउन सकेका छैनन् । रारामा वर्षौंपछि इन्टरनेटको समस्या समाधान भए पनि अन्य असुविधाहरू थुप्रै छन् । रारा पुगेर सबै कष्ट भुले पनि रारामा पर्यटक भित्र्याउन पूर्वाधारमा लगानी गर्नुपर्ने रारा पुग्ने हरेक पर्यटकको सुझाव छ । राराको गहिराइ १ सय ६७ फिट, लम्बाइ ५ किमि र चौडाइ ३ किमि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्