सुपारी आयात बन्द गर्न किसानको माग «
Logo

सुपारी आयात बन्द गर्न किसानको माग

बिर्तामोड– झापाका सुपारी किसानहरूले सुपारीमा भइरहेको आयात बन्द गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । सुपारीको निर्यातसम्बन्धी समस्याका बारेमा अध्ययन गर्न झापा आएको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरूलाई सुपारीको आयात बन्द गर्न झापाका सुपारी किसानहरूले माग गरेका हुन् ।

झापाको बिर्तामोडमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले नेपाली किसानले गरेको सुपारी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले पैसा कमाउने बहानामा बाहिरबाट सुपारी आयात गरी त्यसैलाई निर्यात गर्न चलखेल भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिए ।

खतिवडाले सुपारीको समस्या समाधान गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि हल नभएकाले आफूहरूको समस्या बुझिदिन आग्रह गरे । उनले नेपालमा उत्पादित सुपारीलाई प्राथमिकता दिइनुपर्ने जिकिर गरे । नेपाल सुपारी खेती पहल समितिका अध्यक्ष गीता अधिकारीले नेपाली किसानले उत्पादन गरेको सुपारीको बजार सुनिश्चित नभएकाले किसानहरू साह्रै ठूलो समस्यामा रहेको बताए । उनले सुपारी खेतीप्रति धेरै किसान आत्मनिर्भर रहेकाले सरकारले सुपारी किसानहरूको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सुपारी जोनका संयोजक दीपक गौतमले सुपारीको बजार मूल्यको सुनिश्चितता नभएका कारण किसानहरूले सुपारी खेती फाँड्नुपर्ने अवस्था आएको बताए । उनले सुपारीमा किसान र साना व्यवसायीभन्दा ठूला व्यवसायीहरूको बढी दौडधूप हुने गरेकाले सुपारीका विषयमा किसानलाई बदनाम नगरी प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नेपालमै उत्पादित सुपारी खपत हुन नसकेको अवस्थामा बाहिरबाट आयात गर्दा समस्या उत्पन्न भएको बताए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले धान खेती मासेर सुपारी खेती गरेका किसानले सुपारी पनि मास्नुपर्ने अवस्था आएको बताए । उनले सुपारीमा भइरहेको अन्यायप्रति संसदीय समितिको ध्यानाकर्षण गराउँदै झापाका सुपारी किसानहरूलाई न्याय गरिदिन आग्रह गरे । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले चलखेलकै कारण झापाका सुपारी किसानहरूले सुपारीको उचित मूल्य नपाएकाले सुपारीको आयात बन्द गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुपारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले सुपारी र सुपारी खेतीका बारेमा स्थलगत अध्ययन गर्न पाएकाले किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए । त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरू रणेन्द्र बराइली, रेखा यादव, रमा कोइराला पौडेल र सीता मिजारले झापाका सुपारी किसानहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालमा १४ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेकोमा त्यसमध्ये १० हजार ३ सय मेट्रिक टन सुपारी झापामै उत्पादन हुने गरेको सुपारी खेती विकास संस्थाका अध्यक्ष खतिवडाले जनाए । कोरोनाको समयमा रोकिएको सुपारीको आयात फेरि सुरु भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने झापाका सुपारी किसानहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्