ऋणको सदुपयोग «
Logo

ऋणको सदुपयोग

पछिल्ला वर्षहरूमा नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै विभिन्न टीकाटिप्पणी पनि हुन थालेका छन् । अहिलेसम्म विदेशी र स्वदेशी गरी कुल सार्वजनिक ऋण करिब २३ खर्ब ५७ अर्ब पुगेको छ । यसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा लगभग बराबरजस्तै हो । सरकारले चालु आर्थिक वर्षका चार महिनामा मात्र १ खर्ब १३ अर्ब रुपैयाँ ऋण उठाएको छ । वर्षको पहिलो महिना साउनमा नै १५ अर्ब ७७ करोड ऋण लिइएको छ ।

यस्तै भदौमा ३६ अर्ब ६२ करोड, असोजमा ५९ अर्ब ८५ करोड र कात्तिकमा ९० करोड ९५ लाख रुपैयाँ ऋण उठाइएको हो । यो वर्ष लिएको ऋणमध्ये आन्तरिक ९७ अर्ब ३१ करोड र बाह्य १५ अर्ब ८५ करोड रुपैयाँ हो । सरकारले सार्वजनिक ऋण लिएको मात्र होइन, केही तिरेको पनि छ । यो चार महिनामा ऋणको साँवा र ब्याज गरी ५५ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यसमध्ये आन्तरिक ४२ अर्ब ८४ करोड र बाह्य ऋणको साँवा–ब्याज गरी १२ अर्ब ६० करोड तिरिएको हो ।

मुलुकको अर्थतन्त्रको आकारअनुसार ऋणको यो हिस्सा बढी हो/होइन भन्ने बहस र विवाद अहिले सुरु भएको छ । ५–६ वर्षअघिसम्म सार्वजनिक ऋण १० खर्ब रुपैयाँ पनि पुगेको थिएन । यति सानो समयमा ऋण दोब्बरभन्दा धेरै भएपछि यसका बारेमा चर्चा हुनु स्वभाविकै पनि हो । कतिपयले सरकारले उठाएको सार्वजनिक ऋणको हिस्सा जिडिपीको आधा पनि नपुगेको भन्दै अहिल्यै ठूलो समस्या नभएको बताउँदै आएका छन् ।

ऋणको पूर्ण सदुपयोग गर्ने हो भने सबैभन्दा पहिले मुलुकलाई आवश्यक परेका क्षेत्रमा मात्र पूर्वाधार निर्माण हुनुपर्छ ।

अहिलेको मुलुकको आवश्यकता ऋण लिएर पूर्वाधार बनाउने हो भन्ने उनीहरूको तर्क छ । पूर्वाधारमा हामी निकै कमजोर रहेको र पूर्वाधारको विकासबिना मुलुकको उन्नति हुन नसक्ने भन्दै ऋणै लिएर भए पनि काम गर्नुपर्ने उनीहरूको धारणा छ । अर्काथरीको मत भने भिन्न छ । धेरै मुलुकको सार्वजनिक ऋण र जिडिपीलाई तुलना गर्दा हामीले उठाएको ऋण थोरै छ । तर, मुख्य प्रश्न के हो भने हामीले ऋण लिएर कुन क्षेत्रमा लगानी गरेका छौं ? त्यो पूर्ण रूपमा सदुपयोग भएको छ वा छैन ? र त्यसले आर्थिक रूपमा ‘रिटर्न’ दिन सकेको छ/छैन ?

वास्तवमा ऋण लिएर पूर्वाधार बनाउनु नराम्रो होइन, तर त्यो सही ठाउँमा लगानी गरिएको हुनुपर्छ र दुरुपयोग भएको हुनु हुँदैन । त्यस्तो लगानी गरेको क्षेत्रबाट प्रतिफल पनि आउनुपर्छ । तब मात्र ऋण लिनुको सार्थकता देखिन्छ । नेपालको सन्दर्भमा सरकारले उठाएको ऋणको यस्तै प्रयोग भएको छ त ? अवश्य छैन । हामीले लिएको ऋण पूर्वाधार निर्माणमा लगाएका छौं । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासमा पनि ऋण लिएर काम गरिएको छ । तर, अधिकांश ऋण सही ठाउँमा प्रयोग हुन सकेको छैन ।

ऋण लिएर मुलुकभर टावर र सभाहलहरू बनायौं, तर यसको प्रयोग हुन सकेको छैन । यो एउटा उदाहरण मात्र हो । उत्पादन नगर्ने र प्रतिफल नदिने हजारौं ठाउँमा लिएको ऋण दुरुपयोग भएको छ । केही ऋण सडक, सिँचाइ, खानेपानी, आवासजस्ता पूर्वाधार निर्माणमा पनि खर्च गरिएको छ । तर त्यहाँ पनि पूर्ण सदुपयोग छैन । पहिलो निर्माण तोकिएको समयमा नभएर ढिला हुने गरेको छ । यसले सुरुमा अनुमान गरेको लागतअनुसार कुनै पनि योजना बन्न सकेका छैनन् ।

आज एक अर्ब रुपैयाँमा बन्ने सडक ढिलो गर्दा ५ अर्ब लाग्ने गरेको छ । समयमा काम नगरेर आयोजनाको लागत बढेको उदाहरण हजारौंमा छ । अर्को, निर्माण भएका पूर्वाधारहरू पनि गुणस्तरीय छैनन् । निर्माणकै चरणमा पक्की पुल भत्कनु, कालोपत्रे सडक एक महिना पनि नटिक्नुजस्ता काम हाम्रा लागि नौला रहेका छैनन् । निर्माणको गुणस्तरमा खेलाँची गरेर ऋणको दुरुपयोग भइरहेको छ । कर्मचारी र ठेकेदारको मिलेमतोमा हुने अनियमितता झनै डरलाग्दो छ ।

ऋणको पूर्ण सदुपयोग गर्ने हो भने सबैभन्दा पहिले मुलुकलाई आवश्यक परेका क्षेत्रमा मात्र पूर्वाधार निर्माण हुनुपर्छ । गाउँगाउँमा सडक पुर्‍याउँदैमा र पर्यटकलाई आकर्षण गर्ने नाममा जताततै टावरहरू बनाउँदैमा विकास हुने होइन । ऋण त्यस्तो ठाउँमा खर्च गर्नुपर्छ, जसले सामाजिक र आर्थिक रूपमा प्रतिफल दिन सकोस् । अर्को, खर्चको पारदर्शिता पनि मुख्य विषय हो । अहिले मिलेमतोमा गरिने अनियमितता पूर्ण रूपमा रोकिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्