ईयूको सुरक्षा सूचीमा नेपाल कायमै

काठमाडौं– नेपालको नागरिक उड्डयन क्षेत्र युरोपेली युनियनको उडान सुरक्षा चासो (कालोसूची) बाट हट्न सकेन । युरोपेली युनियन (ईयू) ले बिहीबार उडान सुरक्षा चासोको सूचीमा रहेका एयरलाइन्सहरुको नाम सार्वजनिक गरेको छ ।
यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनी कायमै रहेका छन् । ईयूले हरेक ६–६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि यस्तो कालोसूचीमा राख्न सुरु गरेको हो । यो सूचीमा परेका कारण नेपाली वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकमा उडान अनुमति पाएका छैनन् ।
लामो समयदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको संगठन संरचनामाथि प्रश्न उठिरहेको छ । प्राधिकरणले अहिले सेवा प्रदायक र नियामकीय दुवै भूमिका निर्वाह गरिरहेको छ । यसलाई दुई निकाय बनाएर स्वतन्त्र निकायबाट उडान सुरक्षाको नियमन गर्नुपर्ने बताइँदै आएको छ ।