युद्धरत रुस जाने झण्डै पाँच सय प्रतिशत बढे «
Logo

युद्धरत रुस जाने झण्डै पाँच सय प्रतिशत बढे

काठमाडौं– सामान्यतया अति आवश्यक नपर्दासम्म कोही पनि व्यक्ति युद्धग्रस्त मुलुकहरुमा जान चाहँदैन । सरकारले पनि त्यस्ता मुलुकहरुमा आफ्ना नागरिकलाई जान प्रोत्साहन गर्दैन । कतिपय अवस्थामा जान प्रतिबन्ध नै लगाउँछ । तर, एक वर्षभन्दा बढी समयदेखि युद्धमा होमिएका रुस र युक्रेनका हकमा भने भिन्दै तस्बिर देखिएको छ । विगतमा न्यून संख्यामा नेपाली नागरिक रुस जाने गरेकामा युद्ध सुरु भएपछि जानेको संख्या उच्च देखिएको छ ।

सरकारी खर्च धान्न युवा विदेश पठाउने नीति लिएको सरकारले आफ्ना नागरिक युद्धरत मुलुकहरुमा जान खोज्दा पनि रोकेको देखिँदैन । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रमस्वीकृति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षका सुरुका चार महिनामा सरकारी निकायबाट स्वीकृति लिएर रुस जाने नेपालीको संख्या ५३ जनामात्र थियो । चालु आवका ४ महिनामा भने ३ सय ४ जना नेपाली रुस गएका छन् । यो गत वर्षको तुलनामा ४ सय ७३ प्रतिशतले धेरै हो ।

अघिल्ला ३ आर्थिक वर्षमा रोजगारीका लागि रुस जान श्रमस्वीकृति लिनेको संख्या ५९ जनामात्र थियो । गत वर्षभरिमा भने यो संख्या ३८५ पुगेको थियो । अहिले चार महिनामै संख्या ३०४ पुगेको छ । पछिल्लो समय रुसले विदेशी नागरिकका लागि युक्रेनविरुद्धको युद्धमा जान सेनामा भर्ना खुला गरेको छ । त्यो अवसर थाहा पाएका नेपालीहरु वैध तथा अवैध तरिकाले रसिया प्रवेश गरेर सेनामा भर्ना भएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले श्रमस्वीकृति लिएर रसिया जाने युवाको सम्बन्धमा मन्त्रालयले बिहीबार समिति गठन गरेर अध्ययन सुरु गरेको जानकारी दिए । श्रमस्वीकृति दिँदा तोकिएको रोजगारदातासँग नै काम गर्छन् भन्ने सरकारले विश्वास गर्ने उनले बताए । कर्मचारीले सबै कागजात हेरेर मात्र श्रमस्वीकृति जारी गर्ने उनको भनाइ छ ।

एक वर्षभन्दा अघिदेखि सुरु भएको रुस–युक्रेन युद्धमा हजारौंको ज्यान गएको छ । यो युद्धमा ज्यान गुमाउनेमा सैनिकमात्र छैनन्, गैरसनिकको संख्या पनि उत्तिकै छ । यस्तो जोखिमयुक्त मुलुकमा नेपालीलाई जान भने सरकारले रोकेको छैन । स्वदेशमा रोजगारी नपाएका युवाहरु जोखिम मोलेरै भए पनि रोजगारीका लागि युद्धरत मुलुकमा गइरहेका छन् ।

पछिल्लो समय रुस र युक्रेनमा गएका नेपाली युवा ती मुलुकका सेनामा भर्ति भएको भिडियो सामाजिक सञ्जालमा आइरहेको छ । यहाँबाट अन्य रोजगारीका लागि श्रमस्वीकृति लिएर गएका युवा सेनामा भर्ति भएको हुन सक्ने विज्ञको अनुमान छ । ती दुवै मुलुकका सेनामा कति नेपाली भर्ति भएका छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन । केही दिनअघि सेनामा भर्ती भएका मध्ये चार जना नेपालीको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । दुई देशको युद्धमा परी स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो । यसबाहेक सेनामा कार्यरत केही नेपालीहरु सम्पर्कमा नआएकाले युद्धमा परेको अनुमान गरिएको छ ।

विगतमा रसिया र युक्रेनको सेनामा नेपाली भर्ति भएका छैनन् भन्दै आएको सरकारको ध्यान चार नेपालीको मृत्यु भएपछि मात्र खुलेको छ । सरकारले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा यसबारेमा अध्ययन गर्न समिति बनाएको छ । श्रम मन्त्रालयले समितिलाई रुसी सेनामा नेपाली पठाउन सहजीकरण गर्ने व्यक्ति र संस्थाको खोजी गर्ने जिम्मेवारी पनि दिएको छ ।

श्रम विज्ञहरुका अनुसार सामान्यतया सरकारले श्रमस्वीकृति दिइरहेका मुलुकमा ठूलो समस्या आए आफ्ना नागरिकको सुरक्षाका लागि अस्थायी रुपमा अनुमति बन्द गर्छ । हाम्रो आफ्नै उदाहरण लिने हो भने पनि यसअघि अफगानिस्तान र इराकमा नेपाली मारिएपछि सरकारले विशेष परिस्थिति बाहेक सामान्य अवस्थामा श्रमस्वीकृति रोकेको थियो । कतिपय खाडी मुलुकमा महिलामाथि दुव्र्यवहार भएपछि महिलाका लागि श्रमस्वीकृति बन्द गरिएको थियो । तर, अहिले युद्ध भएको एक वर्षभन्दा धेरै समय भए पनि रुसमा जान प्रतिबन्ध गरिएको छैन । सामान्य र सजिलै रुपमा रुसमा जान सकिन्छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार गत एक वर्षमा लक्ष्यहिन यात्रा गर्ने धेरै नेपाली ‘डिपोर्ट’ भएका छन् । यसरी डिपोर्ट हुनेमा रुसमा गएकाहरु पनि धेरै छन् । अध्यागमन कार्यालयका एक अधिकारीले पछिल्लो समय रुसको अध्ययागमनबाटै फर्कने नेपालीको संख्या बढेको जानकारी दिए । ती अधिकारीका अनुसार विदेशी विमानस्थलबाट प्रवेश नपाएर डिपोर्ट हुने नेपालीहरुको संख्यामा रुस १० ‍‍औं स्थानमा छ । यो तथ्यांक हेर्दा नेपालले भन्दा रुसले नै नेपाली नागरिकलाई आफ्नो मुलुकमा प्रतिबन्ध गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्