स्वास्थ्यका लागि शाकाहारी भोजन «
Logo

स्वास्थ्यका लागि शाकाहारी भोजन

हिन्दू धर्ममा पशुपन्छीलाई दैवीशक्ति मानिन्छ, जस्तैः गाईलाई लक्ष्मीको प्रतीक, लाटोकोसेरो एवं कछुवा लक्ष्मीको वाहन, साँढे शिवजीको, कुकर भैरवको, सिंह दुर्गा भवानीको, राँगो यमराजको र हाँस सरस्वतीको वाहन मानिन्छ । त्यस्तै विष्णुको वराहमत्स्य, कुर्मअवतार, भगवान् शिवको मृगरूपधारण, इन्द्रको ऐरावत हात्तीजस्ता प्रसंग उल्लेख भएको पाइन्छ । हामीले पशुलाई आध्यात्मिक रूपमा पनि महत्वपूर्ण ठानेका छौं । उदाहरणका रूपमा किसानको धानखेतको परिपोषक भ्यागुतालाई दूधभात खुवाउँछौं ।

पानीको स्रोतका रूपमा नागपूजा, स्वच्छ वातावरण राख्न कागपूजा, कर्तव्य, निष्ठा, स्वाभिमान, इमानदारीका लागि कुकुरपूजा, दूध, गहुँत, गोबर एवं अन्न उत्पादनमा हरतरिकाबाट सहयोग पुर्याउने गाईलाई माताको रूपमा पूजा गरिन्छ भने अन्नबालीको उत्पादनमा सहयोग पुर्याउने गोरुलाई गोरुपूजा गरिन्छ । शाकाहारी खानामा स्थायी प्रोटिन भई गुणस्तरीय जीवनयापन गर्न मद्दत पुर्याउँछ भने मांसाहारी खाना त्यस्तो नभई सो खानालाई रोगको वाहकका रूपमा लिइन्छ । मासांहारी खानाबाट सामान्यदेखि प्राणघातक रोगहरू लाग्न सक्छ । अतः यस्तो प्रकारको मांसाहारी खाना प्रयोग नगरी पूर्ण सन्तुष्टि एवं शाकाहारी खाना सुस्वास्थ्यका लागि प्रयोग गरी अहिंस्रक रही मुस्कानसहितको गुणस्तरीय जीवन बिताउनुपर्छ ।

साधारणतया हाम्रो देशमा प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको अवधि दसैं पर्व र कात्तिकमा तिहार तर्व मनाउँछौँ । दसैंको नौ दिनसम्म शक्तिस्वरूपिणी माता दुर्गा भगवतीको पूजा गरिन्छ, विजयादशमीका दिन मान्यजनका हातबाट प्रसाद, टीका र जमरा लगाई परिवारमा सुख, शान्ति र सद्भाव वृद्धि भई व्यक्ति, परिवार, समुदाय, राष्ट्रमा गुणस्तरीय जीवन कायम रहने पूर्ण विश्वास लिएको पाइन्छ । यसै अवधिमा दुःखको कुरा, पशुपन्छी बलिको जघन्य अपराध प्रचुर मात्रामा देखिन्छ । साथै, अन्य धर्मावलम्बीहरूले पनि पशुबलि तथा मांसाहारीका लागि पशुवध गर्ने गर्छन् । स्वार्थवश विभिन्न बहानामा पशुपन्छी बलि दिएको पाइन्छ ।

स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्व हुन्छ । सोका लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः सुक्खा रोटी, उसिनेको, हलुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनका रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्ने, मांसपेशी बलियो बनाउने, शरीरका मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्ने एवं विभिन्न समस्या निराकरण गर्ने यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्या निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ । तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामिन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पुर्याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ ।

यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांसपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।

अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ । प्रोटिन कपाल, हाड, मांसपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मृगौला र कलेजो कोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांसपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्छ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पुर्याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्छ । हामीले प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएका तत्वहरू शरीरले पचाउन सक्दैन र त्यस्ता तत्व दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्छ । त्यसैले विभिन्न किसिमका खानेकुरा मिलाएर खानु फाइदाजनक हुन्छ ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन । केटाकेटीहरू ख्याउटे, दुब्ला र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बूढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिङ्ग्रिङ्ग परेको हुन्छ । कहिलेकाहीं छालामा दाग पनि देखिन्छ । घाउखटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ ।

प्रोटिनका राम्रा स्रोतहरू शाकाहारी खाना नै हुन् । भटमास, मह, सागसब्जी, दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा प्रशस्त मात्रामा दूध आउँछ । गाढा हरियो रंगको तरकारीमा हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू भिटामिन र खनिज पदार्थ हुन्छन्, जसले सरुवा रोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, लौका, घिरौँला, गाजर, बकुला र उमारेका गेडागुडीमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् । भिटामिन ‘ए’ हाम्रो शरीरका निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, आँखाको तेज, स्वस्थ छाला, बलियो दाँत र हाडहरू मजबुत बनाइराख्नका लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ । भिटामिन ‘बी’ले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ ।

विशेष गरी जोर्नी, मुख र गिजालाई फाइदा पुर्याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरमा फलामको मात्रा वृद्धि गर्न पनि मद्दत गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानताका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् । गाढा हरियो सागपात नखाँदा भिटामिन ‘ए’को कमी हुन्छ । भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो हुन्छ । यस किसिमको समस्या विशेष गरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा दुख्ने समस्या हुन सक्छ ।

सानो बालक छ भने आँखा मिचिरहन्छ । आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल, गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनुपर्छ । यस्ता व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर, उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्छ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्ता खानेकुरा खानु आवश्यक छ ।

नेपालमा धेरैजसो सुत्केरी आमामा रगतको कमी हुन्छ । यसकारण उनीहरूले प्रशस्त हरियो सागपात खानुपर्छ । आमा कमजोर हुनु नै बच्चा कमजोर हुनु हो । बालबालिका र बढ्ने केटाकेटीलाई पनि गाढा हरियो सागपात चाहिन्छ । सागलाई धेरै बेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होसियारीसाथ सागपात खानयोग्य बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्