नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति «
Logo

नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति

काठमाडौं- गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको एक लाख पन्ध्र हजार तीन सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारीक कार्यक्रममा कम्पनी कि मार्केटिङ मेनेजर पुर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा स्वागत् मन्तव्य व्यक्त गर्दै कम्पनीकी मार्केटिङ मेनेजर पुर्णिमा गौतमले मेकानिकहरु नेपाल ल्युब आयलको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनीहरुको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताइन् । यस्तै कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोमोबईल्स क्षेत्रका उत्पादक तथा वितरकहरुले मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने गरेको भन्दै त्यस्ता कार्यक्रम गर्नुभन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन अटोमेकानिकल्स व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटोपार्टस सेन्टरका संचालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्