जापानको घरधुरी खर्च लगातार वृद्धि «

जापानको घरधुरी खर्च लगातार वृद्धि

टोकियो-जुलाईमा जापानको घरधुरी खर्च लगातार आठौं महिनामा वृद्धि भएको छ । यद्यपि यो अपेक्षाभन्दा सुस्त गतिमा वृद्धि भएको छ । अमेरिका–चीनबीचको व्यापारिक युद्धका कारण बाह्य मागमा आएको कमीसँग संघर्षरत अवस्थाबाट गुज्रिरहेको जापानी अर्थतन्त्रमा उपभोगको महत्वपूर्ण भूमिका रहेको छ ।
विश्वव्यापी सुस्त वृद्धि र अमेरिका–चीनबीचको व्यापारिक रस्साकस्सीका कारण विश्वव्यापी आर्थिक वृद्धि ओरालो लागेको अवस्थामा जापान जोखिमको अवस्थामा परेको छ ।
जुलाईमा घरधुरी खर्च अघिल्लो वर्षको सोही महिनाको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको छ, तर वृद्धिको यो गति जुनको २. प्रतिशतको तुलनामा सुस्त हो । यो मध्यम अनुमान १.१ प्रतिशतभन्दा पनि कम भएको शुक्रबारको सरकारी तथ्यांकले देखाएको छ ।
वृद्धिको गति मन्द भए पनि तथ्यांक उपलब्ध हुन थालेको वर्ष २००० देखिकै लामो वृद्धि हो । बिक्री कर आगामी महिना ८ प्रतिशतबाट १० प्रतिशत पु-याउनुपूर्व घरेलु मागमा वृद्धि हुने संकेत मिलेको छ ।
अघिल्लो महिनाको तुलनामा घरधुरी खर्च जुलाईमा ०.९ प्रतिशतले ओरालो लागेको छ । मध्यम प्रक्षेपणमा १.३ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको थियो ।
वातानुकूलन, रेफ्रिजेरेटर, खाद्यान्न र विद्युत्को न्यून खरिदले खर्च सुस्त भएको तथ्यांकले देखाएको छ ।
“जुलाईमा वर्षाको समय लामो भएको र तापक्रम पनि वास्तवमै ओर्लेको छ । यो विशेष गरी महिनाको दोस्रो आधामा देखिएको छ,” सरकारी अधिकारीले जानकारी गराउने क्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्