Logo

क्षतिग्रस्त संरचनाको विवरण संकलनमा ढिलाइ

जाजरकोट– कात्तिक १७ गते आएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउछन् भन्ने अन्यौल कायम रहेको छ । पटक–पटकको कार्यविधि बदलिने मात्र नभइ क्षति भएका संरचनाको एकिन विवरण आउन नसक्दा समस्य उत्पन्न हुँदै आएको छ । भूकम्प गएको एक महिना बित्नलाग्दा पनि अस्थायी आवास निर्माण हुन नसक्दा चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । चिसोका कारण अहिलेसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् ।

तर राज्यबाट हुनुपर्ने कार्य भने तदारुकता साथ हुन सकिरहेका छैनन् । कात्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्प पीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन । दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न सकेका छैनन् । राज्यको घुमाउरो प्रक्रियाका कारण ढिलाइ भइरहेको र चिसोले नागरिकको ज्यान जाने सम्भावना बढिरहेको भन्दै सरोकारवालाले तत्काल अस्थायी आवास निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

यद्दपि विभिन्न राजनीतिक दलहरू भने प्रभावित क्षेत्र केन्द्रित भएका छन् । सबैजसो दलका सयौंको संख्यामा नेता, कार्यकर्ता प्रभावित क्षेत्रको व्यवस्थापनमा जुटेका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल भने भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनमा सक्रिय बनेका छन् । यी दलहरूले आफ्ना भ्रातृ संगठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा विपत् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी एक हजार एक सय नेता, कार्यकर्ता स्वयंसेवकका रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् भने माओवादी केन्द्रको प्रदेश कमिटीले नै तीन हजार भन्दा बढी नेता कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएको स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा तीनवटा समूहले काम गरिरहेको छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार उक्त समूहका नेविसंघ, तरुण दललगायतका विभिन्न संगठनका नेता, कार्यकर्ता छन् । अब १४ जना केन्द्रीय सदस्यको नेतृत्वमा प्रत्येक ठाउँमा टिम परिचालन गर्ने गरी कार्यतालिका बन्दै छ । समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघको टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ । आरती लामाको नेतृत्वमा अनेरास्ववियुको ५० जनाभन्दा बढीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् ।

यस्तै रास्वपाको जिल्लाको टोली पनि निरन्तर प्रभावित क्षेत्रमै सक्रिय रहेको छ । एमालेका नेता, कार्यकर्ता भने अघिल्लो शुक्रबारदेखि नै प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । दुवै जिल्लाको कमाण्ड गरिरहेका किरण पौडेलका अनुसार एक हजार ७५ जना फिल्डमै सक्रिय छन् भने त्यसमा बाँकी स्वयंसेवक सामान ढुवानी गर्नेदेखि खानपिनको व्यवस्थापन कार्यमा सक्रिय छन् । यसरी पुनर्निर्माणमा खटिने १५ वटा टोली रुकुम पश्चिममा छ ।

त्यस्तै एमालेले कार्यकर्तालाई कार्य विभाजन गरी २५ वटा टोलीलाई जाजरकोटमा अस्थायी आवास निर्माण, भत्किएका घरहरू पन्छाउने काम लगाइरहेको पौडेलले बताए । दलका स्वयंसेवकले मुख्यगरी भग्नावशेष पन्छाउने र टहरा निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । पुरिएका सामान निकाल्ने, भत्किएका संरचना सफा गरिदिने, आधा भत्किएको छ भने पनि त्यसलाई पूर्ण रूपमा भत्काई खाली गरिदिने काम भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्