निजी अस्पतालले विपन्नलाई निःशुल्क सेवा दिने

धनगढी– धनगढी उपमहानगरपालिका भित्रका निजी अस्पतालले विपन्न, असहायर र बेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा दिने भएका छन् । एसोसियशन अफ प्राइभेट हेल्थ इन्टिच्यूसन नेपाल (अफिन) र धनगढी उपमहानगरपालिकाले सो सेवाका लागि मंगलबार सम्झौता गरेका छन् । सो निःशुल्क सेवा यही मंसिर २४ गतेदेखि धनगढीभित्रका अस्पतालमा लागु हुने नगरप्रमुख गोपाल हमालले बताए ।
अस्पतालमा कुल शैयाको १० प्रतिशत शैया निःशुल्क सेवाका छुट्याउनुपर्ने, अस्पतालले विपन्न, असहाय र बेवारिसे विरामीलाई चिकित्सम परामर्श सेवा, नर्सिङ सेवा, अक्सिजन सेवा, एक्सरे र भिडियो एक्सरे सेवा, प्याथोलोजी सेवामा सिबिसि, ब्लड सुगर एफ, बिलुरुविन, टी एण्ड बी र क्रिटिनाइन सेवा निःशुल्क उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
यसैगरी, सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिन पर्ने पनि सम्झौतामा उल्लेख छ । निजी अस्पतालबाट निःशुल्क सेवा लिन धनगढी उपमहानगरपालिकाबाट सिफारिस लिनुपर्ने पनि सम्झौतामा उल्लेख छ । यसरी निःशुल्क प्रदान गरेको सेवाको विवरण अस्पतालले दैनिक रुपमा सार्वजनिक गर्नुपर्ने र सो विवरण अस्पतालले धनगढी उपमहानगरपालिकालाई बुझाउनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले लक्षित वर्ग प्रमाणित गरी बिरामीको रोगको प्रकृति र निजी अस्पतालको मासिक रुपमा हुने पेटेन्ट फ्लोको आधारमा निःशुल्क उपचारका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा नगर प्रमुख हमाल र अफिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष तीर्थराज पन्तले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सेवा ऐन अनुसार प्रत्येक निजी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत १० प्रतिशत शैया निःशुल्क सेवाका लागि छुट्याई विपन्न, असहाय बिरामीलाई निःशुल्क सेवा दिनु पर्छ । तर सो व्यवस्था कार्यान्वयन नभएको अवस्थामा धनगढी उपमहानगरपालिकाले सम्झौतामा मार्फत् कार्यान्वयन गराइरहेको हो । निःशुल्क सेवा कार्यान्वयनको विषयमा धनगढी उपमहानगरपालिकाले नियमित अनुगमन गर्ने सम्झौता पत्रमा उल्लेख छ ।