Logo

स्ट्रबेरीको परीक्षण खेती सुरु

लमजुङ– लमजुङको राइनासमा परीक्षणको रूपमा स्ट्रबेरी खेती सुरु भएको छ । राइनास नगरपालिका–५, तिनपिप्लेस्थित चेपे नदी किनारमा रहेको जग्गामा परीक्षणको रूपमा स्ट्रबेरीखेती सुरु भएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको सहयोगमा स्थानीय कृषक सूर्य प्रसाईंले परीक्षणको रूपमा स्ट्रबेरी खेती सुरु गरेका हुन् । परीक्षण खेती भएकाले पहिलो चरणमा एक हजार स्ट्रबेरीका बिरुवा सहयोग गरिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए । अहिले परीक्षणका रूपमा खेतमा लगाइएका स्ट्रबेरीको बिरुवा राम्रो देखिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरेको कार्यालय प्रमुख खतिवडाको भनाइ छ ।

‘यो वर्ष परीक्षणको रूपमा एक हजार बिरुवा रोपिएको छ,’ कार्यालय प्रमुख खतिवडाले भने, ‘उत्पादन राम्रो भएमा आगामी वर्षबाट व्यावसायिक रूपमा खेती विस्तारको कार्यक्रम ल्याउने तयारी छ ।’
कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अहिलेसम्म व्यावसायिक रूपमा स्ट्रबेरीको खेती हुन सकेको छैन ।

चिस्यान भएको जमिनमा स्ट्रबेरीको राम्रो उत्पादन हुने भएकाले जिल्लाका केही स्थान स्ट्रबेरीका लागि उपयुक्त हुने कार्यालयले जनाएको छ । परीक्षण खेतीबाट उत्पादन राम्रो भएमा आगामी वर्षबाट नयाँ बिरुवा उत्पादन गरी जिल्लाका अन्य स्थानमा पनि व्यावसायिक रूपमा खेती विस्तार गरिने कार्यालयले जनाएको छ ।

विदेशी फलफूलको रूपमा चिनिने स्ट्रबेरी खेतीको सम्भाव्यता वृद्धि भएमा आगामी वर्षमा जिल्लामै नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्ने पनि कार्यालयको तयारी छ । भूइँकाफल भनेर समेत चिनिने स्ट्रबेरी विश्वव्यापी रुपमा समुद्री सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती हुँदै आएको छ ।

स्ट्रबेरीलाई ताजा फलको रूपका साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत प्रयोग हुने गर्दछ । प्रशस्त घामको प्रकाश पुग्ने र सिंँचाइको सुविधा पु¥याउन सकिने ठाउँमा स्ट्रबेरीको राम्रो सम्भावना हुने कृषि विज्ञहरू बताउँछन् । नेपालमा स्ट्रबेरीका थुप्रै जात भित्रिएका छन् जसमध्ये प्रिमियर, नर्थवेष्ट, रेडकोर्ट, रोयल सोभरिन, आलब्रिटन, न्योहो, ओफ्रा, क्यामारोसा, ब्लेक मोर, ओनो आदि मुख्य हुन् ।

यसको बिरुवा तयार गर्दा फल फलिसकेका बिरुवालाई नै प्रयोग गरिन्छ । एउटा स्वस्थ्य बिरुवाबाट १२–१८ वटासम्म नयाँ बिरुवा तयार गर्न सकिन्छ । माउबोटबाट निस्केका लहरा भूइँंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन् र नयाँ बिरुवाको विकास हुने कृषि विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्