कोशी प्रदेशको बजेट पारित «
Logo

कोशी प्रदेशको बजेट पारित

विराटनगर– कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० सर्वसम्तले पारित भएको सभामुख इस्रायल मन्सुरीले जानकारी दिए ।

प्रतिस्थापन विधेयकमाथि सोमबार र मंगलबार भएको छलफलपछि सभामुख मन्सुरीले खर्च कटौतीको प्रस्ताव राख्न बुधबार ११ बजेसम्मको समय दिएका थिए । निर्धारित समयमा एमाले र राप्रपाका ७ जना सांसदले आठवटा खर्च कटौतीको प्रस्ताव प्रदेशसभामा दर्ता गरेका थिए । यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् । उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियनेजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनिमतका साथ समर्थन गरेका थिए । यसअघि विनियोजन विधेयकको सैद्धान्तिक छलफलका क्रममा भने सत्तारूढ दलसहित एमाले र राप्रपाले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । सांसदहरूले प्रदेशसभामा प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन अग्रह गर्दै मुख्यमन्त्री कार्कीले नमिलेको बजेट मिलाउने प्रतिबद्धता जनाएका थिए ।

मुख्यमन्त्रीको प्रतिबद्धतापछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए । खर्च कटौतीको प्रस्ताव फिर्ता भएपछि विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० मुख्यमन्त्री कार्कीले निर्णयार्थ पेश गरेका थिए । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट पेश गरेका थिए । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् ३६ अर्ब २४ करोड ३५ लाख बराबरको बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्