Logo

आलुखेती गर्न तीन करोड बजेट

म्याग्दी– म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ । आलुबाली संरक्षण र विस्तारका लागि चालू आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रूपमा समूहलाई वितरण गर्नेछ ।

हिउँदे र बर्खे आलुबाली संरक्षणका लागि सो बजेटमार्फत् १२५ हेक्टर क्षेत्रफलमा आलु लगाउनु पर्छ । छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी १२ हजार रुपैयाँका दरले बिउ खरिद लगायतका उपकरण किन्नका लागि समूहलाई उपलब्ध गराइने कृषि ज्ञान केन्द्रमा कार्यरत अधिकृत सम्झना शर्माले बताइन् ।

उनले कम्तीमा १० घरधुरी समेटिएको ३० रोपनीभन्दा बढीमा आलुखेती गर्ने १८ वटा समूह वा सहकारी अनुदानका लागि भएको जानकारी दिइन् । ‘हिउँदे आलु लगाउन बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरीका १८ वटा समूहले प्रक्रिया पुर्‍याएर आवेदन दिएका थिए । यी समूहले ५० हेक्टरमा खायन लगायतका आलु लगाउने छन् । आलुखेती लगाउने सहकारी र कृषक समूहलाई कुल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ,’ उनले भनिन् ।

सबैभन्दा बढी मंगला–३ का धापुङ महिला कृषि समूहले ११४ रोपनीमा हिउँदे आलु लगाउने भएका छन् । उत्पादन भएको आलुलाई सुरक्षित भण्डारणको अभावले सस्तोमा आलु बिक्री गर्नुपर्ने बाध्यतामा कृषक वा कृषक समूह रहेका छन् । हिउँदे आलु लगाउनका लागि अन्नपूर्ण र रघुगंगाका कृषक समूहबाट आवेदन परेको छैन ।

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन बजेटलाई प्रयोग गरिने केन्द्रले जनाएको छ । बर्खे आलु लगाउनका लागि बाँकी रहेको ७५ हेक्टर क्षेत्रफलमा विगत लगाएका र नयाँ कृषक समूह, सहकारीलाई थप जानकारी गराएर प्रभावकारी रूपमा कार्यान्वयन लागि प्रक्रिया अघि बढाइने अधिकृत शर्माले जानकारी दिइन् ।

बर्खे आलु कार्यान्वयनका लागि कम्तीमा १० घरधुरी संलग्न रहेको न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत् आलुखेती गर्नका आवेदन गर्नुपर्नेछ । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बिउ बाहिरबाट बढी ल्याउने गरेका छन् । म्याग्दीमा बिउको आलु उत्पादन गर्नका लागि समूह छनोट गरेर यस वर्ष १० रोपनीमा लगाउने योजना केन्द्रले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्