विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला– कर्णालीको जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । लामो प्रयास र संघर्षपछि विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो । सरकारले चालु आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट छुट्ट्याइएको छ । जग्गा अधिग्रहणबिना उक्त बजेट खर्च हुने स्थिति छैन ।
जग्गा अधिग्रहणबिना विमानस्थल विस्तार असम्भवजस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट निल्नु न ओकल्नु भएको थियो । तर जग्गा अधिग्रहण प्रक्रिया थालनी भएसँगै विमानस्थल विस्तार हुने आशा जागेको छ । विमानस्थल धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
नागरिक उड्डयन कार्यालय, जुम्लाले आइतबार जग्गा अधिग्रहण तथा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरेपछि जग्गा अधिग्रहणको पहिलो चरण सुरु भएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । प्राधिकरणले जुम्ला विमानस्थल प्रमुख अधिकारीलाई ‘जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ समेत तोकेको छ ।
जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाइ ६ सय ७० र चौडाइ २० मिटर छ । विमानस्थल विस्तारका लागि धावनमार्गको ३ सय ५० मिटर पूर्वतिर र ९२ मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालको भन्दा ठूलो सिट क्षमताको जहाज अवतरण गराउन विमानस्थल धावनमार्ग र टर्मिनल भवन बनाउन लागिएको विमानस्थल प्रमुख अधिकारीले उल्लेख गरे ।
उनले भने, ‘२०५१ सालमा निर्माण गरिएको टर्मिनल भवन जीर्ण बन्दै गएको छ । हरेक वर्ष धेरथोर बजेट आए पनि जग्गा अभावले एयरपोर्ट विस्तार हुन सकेको छैन । पछिल्लो वर्षमा जुम्लाका सबै सांसदको पहलमा जग्गा अधिग्रहणको काम सुरु हुँदै छ ।’ जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणका लागि धावन मार्गको पश्चिम र पूर्वतर्फ करिब १ ८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो ।
जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्कीकृति प्रदान गर्नेबारे गत जेठ २ मा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १० मै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो ।
विभिन्न निर्देशन तथा प्राधिकरणको चासो राखेपछि जुम्ला विमानस्थल प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी कारबाही चलाउने र प्रारम्भिक अधिकारी तोकेर सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि जग्गा अधिग्रहण सार्वजनिक गरिएको विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए । उनका अनुसार सूचना प्रकाशनपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गावाल तथा सरोकारवालाबीच चरणबद्ध छलफल चलाइनेछ ।
जग्गा अधिग्रहणमा बजेटकै पिरलो
जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु भए पनि बजेट अभावको पिरलो कायमै छ । जग्गा अधिग्रहणको प्रक्रिया थाले पनि बजेटको अझै टुंगो छैन । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख विनियोजन गरेको छ ।
उक्त बजेट जग्गा अधिग्रहणबिना खर्च हुने स्थिति छैन । प्रक्रिया थाले पनि मुआब्जा दिने बजेट सुनिश्चित नभएसम्म जग्गा अधिग्रहण कार्य पनि अघि बढ्ने अवस्था देखिन्न । विनियोजित ४ करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (ट्याक्सी वे) लगायतका संरचना निर्माण हुनेछन् । तर, जग्गा अधिग्रहणका लागि भने बजेट अभाव कायमै छ ।
विमानस्थल विस्तारका लागि जम्मा १८३.८० रोपनी जग्गा अधिग्रहण गर्दा सरकारी रेटमै मुआब्जा दिन पनि करिब ४८ करोड बजेट आवश्यक पर्छ । यति ठूलो बजेट सरकारले सहजै दिने स्थिति छैन । जग्गा अधिग्रहणको बजेट जुटाउन पहल भए पनि सरकारले विभिन्न कारण देखाउँदै बजेट दिएको छैन । जुम्लाकी सांसद कान्तिका सेजुवालले बजेट व्यवस्थापनका लागि केन्द्रमा पहल भए पनि बजेटको विषय अझै टुंगोमा नपुगेको बताइन् ।
उनले भनिन्, ‘प्राधिकरणकै डिजाइन स्टमेटअनुसार १८३.८० रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जाका लागि ४८ करोड बजेट आवश्यक पर्नेछ । पहिलो चरणमा कम्तीमा पनि १५–२० करोड छुट्ट्याउन पहल गरेको छु । अब जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु भयो । सरकारले बाध्यकारी भएर पनि बजेट दिनुपर्छ ।’ विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रियासम्म आइपुग्दा निकै कठिनाइ झेल्नुपरेको थियो । बजेट जुटाउन फलामको चिउरा चपाएसरह नै रहेको सांसद सेजुवालको भनाइ छ ।
जुम्ला विमानस्थल विस्तार, हवाई इन्धनको डिपो स्थापनापछि जुम्ला विमानस्थल कर्णाली प्रदेशको पर्यटन हब बन्ने सम्भावना छ । जुम्लाबाटै हुम्ला, डोल्पा मुगु पुग्ने पर्यटकलाई समेत सहज हुनेछ । कर्णालीमा हवाई सेवा सहज नहुँदा पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ । २०७६ सालदेखि बर्सेनि एयरपोर्ट विस्तारको बहस चले पनि बल्ल काम हुन थालेको हो ।