प्रेम दिवसमा हात्तीको वनभोज «

प्रेम दिवसमा हात्तीको वनभोज

चितवन-संसारभर बुधबार प्रेमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएको हो । सौराहामा अहिले खाना महोत्सव चलिरहेको छ भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ रेष्टुरेन्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा १२ औं सौराहा खाना महोत्सव (फुड फेष्टिवल) चलिरहेको छ । फेस्टिवललाई थप आकर्षक वनाउन यस वर्षदेखि हात्तीका लागि वनभोज कार्यक्रम राखिएको हो । प्रेम दिवसकै दिन बुधवार ६५ वटा हात्तीहरूलाई वनभोज खुवाइएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोज कार्यक्रममा युनाइटेड हात्ती सहकारी संस्था र ह्याप्पी होमका हात्तीहरू सहभागी गराइएको थियो । हात्तीलाई उखु , खिर , फलफुल, तरकारीलगायतका खानेकुरा खुवाइएको थियो । लस्करै राखिएका हात्तीले वनभोज खाएको हेर्न पर्यटकहरूको घुइँचो लागेको थियो । धेरैले हात्तीले वनभोज आएको स्थानमा सेल्फी पनि खिचे ।
कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवंम् पूर्वी सेक्टर प्रमुख अविनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने बताए । खाना महोत्सवमा प्रेम दिवसकै अवसरमा बुधवार प्रेम पत्रलेखन प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रेमपत्र लेखन प्रतियोगितामा उत्कृष्ट भएका २ जनालाई नगद सहित पुरस्कृत गरिएको थियो । फागुन ३ सम्म चल्ने खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहेका छन् ।

विप्लव काफ्ले

प्रतिक्रिया दिनुहोस्