न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न होटल, क्यासिनोका मजदुरको माग «
Logo

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न होटल, क्यासिनोका मजदुरको माग

काठमाडौं- होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले आफूहरुको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ ।

बुधबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरुलाई सरकारको तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उनले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सेवा गरेबापत उपलब्ध हुँदै आएको १० प्रतिशत शुल्क कटौति गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई खारेज गर्न पनि सरकारलाई दबाब दिए ।

एमाले निकट मजदुर संगठन जिफन्टमा आवद्ध सो युनियनले योजदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुरहरुलाई सूचिकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । युनियनका अध्यक्ष तिवारीले सरकारले आफूहरुलाई तोकिदिएको न्युनतम मासिक पारिश्रमिक १७ हजार ३ सय कार्यान्वयन गरेर मात्रै सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सकिने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्