प्रहरी समायोजन गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण «
Logo

प्रहरी समायोजन गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं– प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानूनमन्त्री)हरुले संयुक्त रुपमा संघीय सरकारका गृहमन्त्री श्रेष्ठलाई भेट गरी यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । उनीहरुले प्रहरी कर्मचारी तथा संरचना प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति, सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्व प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग गरेका छन् ।

गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रतिक्रिया दिँदै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताए । उनले संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विशेष अनुरोध गरिएको पनि जानकारी दिए ।

‘प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ संघीय संसदबाट पारित भएर २०७६ साल माघ २८ गते प्रमाणिकरण भइसक्दा पनि संविधानको अनुसूची ६ बमोजिम नेपाल सरकारले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर आजसम्म प्रहरी कर्मचारी तथा संरचनाहरुको हस्तान्तरण हुनसकेको छैन’ उनले भने, ‘संविधानले प्रदान गरेको प्रदेशको शान्ति, सुरक्षा जस्ता प्रदेशको एकल अधिकारको विषय प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।’ गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रहरी समयोजनको प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता गरेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठसँगको भेटमा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जि.सी., सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट सहभागि थिए । त्यसैगरी गण्डकी प्रदेशकि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका बिना विभागिय मन्त्री समशेर राई उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्